नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो । पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ ।
सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिएको जानकारी अनुसार, नेपालले पैसा पठाएको सात दिनभित्र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता चिनियाँ पक्षबाट भएको छ। सरकारले स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई बजेट सिलिङ दिएको थिएन । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामग्रीलाई सोही अनुरुप भुक्तानी दिने भनिएको थियो । सम्भवत सोमबार नेपालले पैसा पठाउनेछ।
चीनबाट आउने स्वास्थ्य सामग्रीको मूल्य सोमबार मात्रै थाहा हुने उनले बताए। सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।
३ सय ४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ। चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ।
भारतबाट ५३ प्रकारका औषधि आउने
जंगीअड्डाको खरिद ईकाईले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढाएको थियो । जसअनुसार भारतले दिल्लीस्थित नेपाली दूतावासमा ती औषधि जम्मा गरिदिनेछ । र, त्यहाँबाट नेपालमा औषधि ल्याइनेछ ।
हालसम्म दूतावासमा औषधि जम्मा भइसकेको छैन । ‘अहिले पहिलो प्राथमिकतामा स्वास्थ्य सामग्री परेको छ, त्यसपछि भारतबाट औषधिका लागि थप फलोअप गर्छौँ’, एक सैनिक अधिकृतले भने, ‘हालसम्म ५३ प्रकारका स्वास्थ्य सामग्री पठाउने भन्ने टुंगो लागेको छ ।’
यसअघि भारतले चैत दोस्रो साता कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो । भारतको सशस्त्र बल चित्किसा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले सहयोगका लागि र्यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार भएको बताएका थिए । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपचारभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक भएको जवाफ फर्काएका थिए ।
स्वास्थ्य विभागले पनि ल्याउँदैछ औषधि
यसैबीच, सेनालाई खरिदको जिम्मा दिने निर्णय पनि विवादमा तानिएपछि स्वास्थ्य सेवा विभागबाट पनि छुट्टै खरिद प्रक्रिया अघि बढिरहेको छ । जसका लागि विभागले तीन वटा कम्पनीसँग सम्झौता गरिसकेको छ । शुक्रबार विभागले ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग २९ देखि ३० करोड रुपैयाँ बराबरको सामान ल्याउने गरी सम्झौता गरेको थियो । सम्झौताको पहिलो साता आंशिक र दोस्रो सातासम्ममा सबै सामग्री ल्याउने गरी सहमति भएको थियो ।
विभागले प्रयोगशालाका लागि चाहिने सामान, सेनिटाइजर र थर्मोमिटर खरिदका लागि भने छुट्टै सम्झौता गर्ने जनाएको थियो । यो सम्झौतामा मुख्यतः पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) समेटिएका छन् । ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ।