गुणस्तरहीन दाल खरिद गरी राहत बाँडेको आरोपमा बारा जिल्लाको कलैया उपमहानगरपालिकाका दुई वडाध्यक्ष र एक वडा सचिवसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन रहेका छन्
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार, उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । मिल सञ्चालक जैनलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–२ स्थित घरबाट र अन्यलाई जिल्लाबाटै नियन्त्रणमा लिइएको हो ।
आधा दर्जन वडाका सयौं परिवारलाई कुहिएको दाल बाँडिएको गुनासो आएपछि स्थानीय प्रशासनले कोल्डस्टोरबाट र राहत बाँडेको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो । गुण नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान गर्न थालेको हो । प्रहरीले कोल्डस्टोरमा भण्डारण गरिएको ३ सय ८० बोरा दाल सिल गरेको छ ।
सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका प्रमुख राजेस राय यादवका पिता संबिधान सभाका सदस्य राधेचन्द्र यादबको नाममा रहेको छ /