लक डाउन कडा पार्ने भन्दै पुलमा राखिएको तारबार नाघ्न खोज्दा एक युवकको मृयु भएपछी चर्को बिरोध शुरु भएको छ।
धादिङ्गमा लकडाउन कडा पार्ने भन्दै गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलमा राखिएको तारबार नाघ्न खोज्दा ज्वालामुखि गाउँपालिका ५ बाँझाघरका होम बहादुर रानामगरको मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछी रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै स्थानीय बासिन्दाले आलोचना गरेका छन्। साथै उनीहरुले सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन पनि माग गरेका छन् ।
बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना समेत रहेको बुढीगण्डकीस्थित बुंकोटघाट पुलमा लकडाउन कडा पार्ने भन्दै ज्वालामुखि गाउँपालिका ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीको सक्रियतामा पुलमा छेकबार लगाइएको थियो । सो पुलमा वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले तारबार गरेर हिँड्न नमिल्ने बनाएका थिए । मृतक मगर आफ्नो घरतर्फ जान लागेको बेला बार नाघ्न खोज्दा लडेर मृत्यु भएको प्रहरीले बताएकाे छ ।
रोजगारीका लागि चितवनमा रहेका युवा बुधबार आफ्नो घर फर्कँदै थिए । परिवारसहित चितवनमा बस्दै आएका उनका परिवार लकडाउन अघि नै गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए ।
तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ । मृतकले बुधबार राति आफू घर आईरहेको जानकारी परिवारलाई समेत गराएका थिए । मृतक रानाले परिवारलाई आफूलाई लिन आउन भनेपछि परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो , तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुनः खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो ।