जिल्ला प्रशासन कार्यालय गोरखाबाट तीन वटा बन्दुक राख्न अनुमति लिएका गोर्खाको प्रसिद्ध मनकामना मन्दिरका पुजारीको एउटा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ।
लकडाउनको समयमा शुक्रवार राति बन्दुक बोकेर हिँडेका पुजारी इन्सान थापा मगरले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको हो ।
व्यक्तिगत प्रयोजनका लागि भनेर लाइसेन्स लिएका पुजारीले उक्त हतियार शिकार खेल्नका लागि प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेको थियो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकेर हिँडेपछि नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार, पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् । त्यहीकारण प्रहरीले बन्दुक नियन्त्रणमा लिएर पुजारीलाई तारेख छाडिएको जनाएको छ।