एकैदिन १४ जना कोरोना संक्रमित पुष्टि : ‘भुसको आगो जस्तो हुने संभावना’ – अहिले नै आत्तिहाल्नु पर्दैन

एकैदिन १४ जना कोरोना संक्रमित पुष्टि : ‘भुसको आगो जस्तो हुने संभावना’ – अहिले नै आत्तिहाल्नु पर्दैन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ बैशाख २०७७
  • 4.1K
    Shares

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा लुकेर बसेका १२ जनासहित १४ जनामा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९)  देखिएको छ।  यसरी कोरोना भाइरस संक्रमण देखिनेमा उदयपुरमा १२ जना र चितवनमा दुई जना रहेका छन्।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उदयपुरमा शुक्रबार थपिएका १२ मध्ये केही भारतीय हुन् । तर सबै २२ देखि ३४ वर्ष उमेर समुहका सबै युवा हुन्।

संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटिए पछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनमा आमाछोरा संक्रमित

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । उनीहरु राप्ती नगरपालिका–८ का आमाछोरा हुन् । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।

जोखिम बढयो : विज्ञ

सरकारले आवतजावत बन्दको घोषणा गरे पनि खुला सीमाका कारण जोखिम बढेको विज्ञको भनाइ छ। नाकाको आवागमन जोखिमपूर्ण भएको उल्लेख गर्दै विज्ञले पछिल्लो संक्रमणले तेस्रो चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन्।

कोरोना भाइरस समुदाय तहमा फैलिएको अवस्थामा तेस्रो चरणमा प्रवेश गरेको मानिन्छ। संक्रमितबाट समुदायमा फैलिएको पुष्टि भए तेस्रो चरणमा प्रवेश गरेको हुन्छ।

बरिष्ठ श्वासप्रश्वास एवं सघन उपचार (आइसीयु) विज्ञ डा. अर्जुन कार्कीले पछिल्लो अवस्थाले कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा जाने संकेतका रूपमा लिन सकिने बताए। उनले भने, ‘लकडाउनको घोषणा सँगै सरकारले सतर्कताका प्रयत्नहरू नअपनाएको भए धेरै अघि विष्फोट हुन सक्थ्यो। असावधानी र लापरवाहीका कारण नेपालमा पनि विष्फोट हुन सक्छ। कति ठूलो र कतिखेर विष्फोट हुन्छ भन्ने मात्र हो।’

डा. कार्कीले भने, ‘भुसको आगो जस्तो हुने संभावना प्रबल छ। अहिले नै आत्तिहाल्नु पर्दैन। संक्रमण हुने बित्तिकै कोही मर्ने पनि होइन।’

प्रतिक्रिया