सरकारले मन्त्रीपरिषद बैठकबाट कोरोना भाइरस फैलिन नदिन आवस्यक स्वास्थ्य सामाग्री खरीद गर्न प्रत्यक्ष सरकार-सरकार (GtoG) बिधिमार्फत नीतिगत रुपमा त्यसको जिम्मा नेपाली सेनालाई दिएको छ। तर सरकार स्वयम् अहिले ब्यबहारत: निजि कम्पनीहरुसँग स्वास्थ्य सामाग्रीहरु किनिरहेको छ। जसकाकारण नेपाली सेनाजस्तो तटस्थ संस्थाको क्षमतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । एकातर्फ चाँडो सामान किन्न नसकेपछि सेना आलोचित हुन थालेको छ भने अर्कोतिर सरकारले निजी कम्पनीबाटै सामान उठाउन थालेको छ ।
सरकारले सेनालाई कोरोना (कोभिड-१९) भाइरसको रोकथाम तथा उपचारका लागि स्वास्थ्य उपकरण र औषधि ल्याउने जिम्मेवारी दिए पनि अहिलेसम्म बजेट नै नतोकिएको रक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सेनालाई खरिदको जिम्मा दिने निर्णय गरेको बिहीबार १४ दिन भइसक्दा पनि औषधी कहिले आउने टुंगो छैन । नेपाली सेनाले कागजी प्रक्रिया चलिरहेको बताएको छ । औषधी किन्ने फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयमा घुमिरहेको छ ।
नेपाली सेनाको जंगी अड्डालाई सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न मन्त्रिपरिषदले चैत १६ मा जिम्मा दिएको थियो । त्यसलगत्तै जंगीअड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि खरिद गर्न प्रस्ताव राखेको थियो । तीमध्ये चीन र भारतले मात्र स्वीकृति जनाएका थिए । इजरायल र सिंगापुरबाट कुनै जवाफ आएको थिएन ।
त्यसपछि जंगीअड्डाको खरिद इकाइले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढायो । भारतबाट ल्याउने औषधिको सूची पनि तयार भएर प्रस्ताव स्वीकृत भइसकेको छ । तयार पारिएको सूचीलाई रक्षा र स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेपछि खरिद इकाइ अहिले दुवै मुलुकका सरकारी स्वामित्वको औषधि कम्पनीसँग प्रत्यक्ष सम्पर्कमा रहेको स्रोतले बतायो ।
नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री खरिदको अन्तिम सूची तेस्रो संशोधनपछि तयार भएको छ । चिनियाँ पक्षले नेपालको प्रस्तावमा प्राविधिक कठिनाई औँल्याएपछि बुधबार भिडियो कन्फ्रेन्समार्फत प्रस्तावित सामग्री खरिदको सूची सच्याइएको हो ।अब खरिद गर्नुपर्ने सामग्रीको अन्तिम सूची टुंगिएपछि रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने सूचीका आधारमा बजेटबारे टुंगो लाग्ने रक्षा स्रोतले बताएको छ । त्यसपछि मन्त्रिपरिषदले नै सूचीमा उल्लेख भएअनुसारको मूल्य पारित गरेर बजेट तोक्ने स्रोतको भनाइ छ । र, भुक्तानी प्रणाली पनि क्याविनेटबाटै टुंगो लाग्ने स्रोतको भनाइ छ ।
स्रोतका अनुसार अन्तिम सूचीमा ६० बढी स्वास्थ्य सामग्री समेटिएका छन् । सैनिक स्रोतका अनुसार अन्तिम सूची चीनलाई पठाइएको छ । जसअनुसार सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री र औषधि खरिद गर्न लागेको स्रोतले बतायो ।
नेपाली सेनाले पठाएको औषधी र उपकरणको सूची र मूल्यबारे रक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल गर्नेछ । अर्थले पनि फाइलको अध्ययन गरेपछि मात्र स्वीकृति दिनेछ ।
भोलि कुनै विवाद नआओस भनेर अर्थ मन्त्रालयले सबै कुराको विस्तृत अध्ययन गरेपछि मात्रै बल्ल अरु प्रक्रिया सुरु हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । अर्थले अन्तिम सूची र बजेट सुनिश्चित गरेका जानकारीसहित औषधी र उपकरणको सूची रक्षा मन्त्रालय हुँदै जंगी अड्डामा पठाउनेछ ।
जंगी अड्डाले परराष्ट्र मन्त्रालयमा यो सूची र सम्झौताको पत्र पठाउनेछ । परराष्ट्र मन्त्रालयले भारत र चीनमा भिडियो कन्फ्रेन्समार्फत औषधीको सूची, मुल्य, भुक्तानीको मोडालिटी र ट्रान्सपोर्ट मोडालिटीको टुंगो लगाउनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
सम्झौतापत्र, भुक्तानी र ट्रान्सपोर्ट मोडालिटीको टुंगो लागेपछि भारत चीनका कम्पनीले डेलिभरी अर्थात सामान उपलब्ध गराउने मिति दिनेछन । अनि बल्ल नेपालले सामान लिन जहाज पठाउनेछ । त्यसअघि भुक्तानीको र औषधी ल्याउने उपायबारे मन्त्रीपरषद्ले या मन्त्रीस्तरीय निर्णय हुनुपर्ने नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता पाण्डेले ‘सामान पहिले नै एअरपोर्टमा आइपुग्यो भने हामीले त्यसबापत धेरै पैसा भाडाको रुपमा बुझाउनुपर्नेछ, त्यसैले हाम्रो सबै प्रक्रिया पुर्याएर मात्रै सामान डेलिभरी गर्न भन्नु पर्ने’ जानकारी दिए। यो सबै प्रक्रिया पूरा गर्दा अझै कम्तिमा एकहप्ता लाग्नसक्ने सेनाले जनाएको छ ।
निर्णयमा जीटूजी, व्यवहारमा ठेकदारसँग साँठगाँठ
कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाटै धमाधम मेडिकल सामग्री आयात भइरहेको छ । तर, यतिका दिनसम्म सेनाले भने सामग्री खरिद गर्न सकेको छैन । सरकारले सामान खरिदको जिम्मा सेनालाई दिएर उसको भूमिका आलोचित बनाइदिएको छ ।
सेनामार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारले स्वास्थ्य सेवा विभागबाट पनि सामग्री खरिद गरिरहेको छ । विभागले केही दिनअघि सार्वजनिक सूचना जारी गरेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), प्रोटेक्टिभ गगल्स, गाउन, मास्क, ग्लोब्स, सुज कभर, क्याप लगायतका सामग्री माग गरेको थियो ।
विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भन्छन्, ‘हामीले ४० करोड रुपैयाँ बराबरको सामग्री खरिद गर्दैछौँ।’ यसका लागि चारवटा कम्पनीको नाम छनोट गरिएको उनले जानकारी दिए। यद्यपि, श्रेष्ठले ती कम्पनीको नाम बताएनन् ।
वाइडबडी चीन जाँदै
यसैवीच, नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज बिहीबार साँझ चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुवै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् ।
चीनबाट मेडिकल सामान ल्याउन निजी कम्पनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काका अनुसार फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड भएको हो । साँझ पौने ७ बजे उड्ने यी जहाज शुक्रबार बिहान काठमाडौं फर्कनेछन् ।
यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ । सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो ।