पर्साको वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बसिरहेका तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको स्वाब परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए । समाचार्श्रोत अनलाइनखबर डट कम