गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरेको हो ।
एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार, एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाएको हो । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ । ती सामग्री मध्य ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरिनेछ । एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिने र टेष्ट गरेको ३ घण्टामै नतिजा दिने सामग्री ल्याइएको संघले जनाएको छ ।
यस्तै गैरआवासीय नेपाली संघ चीनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा शनिबार काठमाडौं पुग्ने जनाकारी अध्यक्ष पन्तले दिए ।
‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट किनेर पठाउने निर्णय बमोजिम ती सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनए कोरियाले जनाएको छ ।
दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य सम्वन्धी सामग्री खरिद प्रकृया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले संघले थप १ करोड बराबरको सामग्री यसैसाता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताए ।
कोरोना भाइरस संक्रमण भए नभएको छोटो अबधिमै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पुरा गरे पनि विमानस्थल अबरुद्ध हुदाँ केही ढिला भएको एनआरएनए दक्षिण कोरियाको अध्यक्ष यज्ञराज सुबेदीले जानकारी दिए ।