सत्तारुढ नेकपा पूर्वसमूहहरूको महासंघ बन्ने खतरा : रश्मि आचार्य

सत्तारुढ नेकपा पूर्वसमूहहरूको महासंघ बन्ने खतरा : रश्मि आचार्य


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ चैत्र २०७६
  • 5.3K
    Shares

रश्मि आचार्य

नेतापिच्छेका पूर्वसमूह स्थायी बन्दै गए भने नेपाल कम्युनिस्ट पार्टी पूर्वसमूहहरूको महासंघ बन्न धेरै समय लाग्दैन। पार्टी एकता भएको दुई वर्ष नपुग्दै नेकपाभित्र विकसित असमझदारीको भुंग्रोले धेरैलाई चिन्तित बनाएको छ । गत निर्वाचनमा स्थिरता, सुशासन र समृद्धिको आशामा नेकपालाई मतदान गरेका लाखौँ मतदाताको मनमा यतिवेला गहिरो चिसो पसेको छ ।

अब के हुने हो ? नेकपा पूर्ण रूपले नजुट्दै फुट्न खोजेको हो र ? देश अस्थिरताको भुमरीमा पुनः फस्ने त होइन ? आमजनताका आशामाथि तुषारापात हुने त होइन ? अनेकौँ आशंका जन्मेका छन् । यी आशंकाको निवारण तपाईंहरू (नेकपाका अध्यक्षद्वय) बाहेक अरूले गर्न सक्दैन । जनादेश र तपाईंहरूकै दृढ इच्छाशक्तिको फ्युजनबाट देशले दशकौँपछि स्थिर सरकार पायो ।

विभिन्न भंगालामा विभक्त नेपालको कम्युनिस्ट आन्दोलन एकीकरण भई नेकपा बन्यो । कम्युनिस्ट आन्दोलनमा एउटै भूमिमा एकै समयमा शान्तिपूर्ण र सशस्त्र दुई भिन्न धारले हासिल गरेका विशिष्ट अनुभवलाई एउटै धारमा हिँडाउने जोखिम मिश्रित ऐतिहासिक काम यहाँहरूकै नेतृत्वमा सम्भव भयो । तसर्थ, दुनियाँलाई झस्काउने यो युगीन महत्वको एकताविरुद्ध भइरहेका र हुन सक्ने षड्यन्त्र पहिचान गर्न यहाँहरूको समान बुझाइ आजको पेचिलो परिस्थितिले माग गरेको छ ।

तपाईंहरूलाई अवगत नै छ, यतिवेला राजनीतिक बजार तताउनेहरू थरीथरीका छन् । एकथरी तपाईंहरूको एकता भाँड्ने गुरुयोजनाबाट प्रेरित छन् । उनीहरू कहाँ चर पाइन्छ, के उछाल्दा असमझदारी बढ्छ भनेर माइक्रोसकोप लिएर हिँडेका छन् । पार्टीभित्रैका अर्काथरी नियोजित हो वा बहकिएर हो, एकताअघिको धार ( एमाले र एमाओवादी) मा रंगिएरएकताविरुद्ध वाण सोझ्याइरहेका छन् ।

दुनियाँलाई झस्काउने यो युगीन महत्वको एकताविरुद्ध भइरहेका र हुन सक्ने षड्यन्त्र पहिचान गर्न यहाँहरूको समान बुझाइ आजको पेचिलो परिस्थितिले माग गरेको छ ।

उनीहरू लार्भाबाट पुतली बनिसकेको तथ्य बिर्सेर पुनः लार्भामा फर्कन खोजिरहेका छन् । भित्र र बाहिरका अनेकथरीसँग जोगिन पहिलो सतर्कता चाहिएको छ । वामपन्थी पार्टीहरू एक भएको लामो अन्तरालसम्म पूर्वसमूह (माले, एमाले, माक्र्सवादी, चौम, मशाल, मसाल, एकता केन्द्र, माओवादी केन्द्र) का मनोविज्ञान जीवितै देखिएका छन् । त्यसैको आधारमा नजिक वा टाढा, घनिष्ठ वा कनिष्ठका रेखा कोरिएकै छन् ।

यस्ता संकीर्ण चिन्तनले विहंगम एकतालाई संकुचित बनाउँछ । पूर्वसमूह चलाउँदै जाँदा नेतापिच्छेका समूह स्थायी रूपमा बन्ने र परिणामतः नेपाल कम्युनिस्ट पार्टी पूर्वसमूहहरूको महासंघ बन्न धेरै समय पर्खनै पर्दैन । नेकपालाई नयाँ शिराबाट अगाडि बढाउन यस्तो वंशाणुगत समस्याबाट बाहिर निकाल्न तपाईंहरूको अग्रसरता अपरिहार्य छ । सेती र काली गण्डकी मिसिएर नारायणी बनेपछि पुनः सेती वा कालीगण्डकीकै साँधसिमाना खोज्दै गएर रंग छुट्याउन तम्सनु भनेको पूर्णतः उल्टो बाटो हिँड्नु हो । यस्ता गलत अभ्यासलाई निर्ममतापूर्वक रोक्नैपर्छ ।

दुई पार्टी एक भएको दुई वर्ष बित्नै लाग्दा पनि एकता पूर्ण रूपले नसकिएकाले पूर्वपार्टीको मनोविज्ञान कायमै देखिन्छ । महरा प्रकरणलाई पूर्वएमाले पंक्तिले र बाँस्कोटा प्रकरणलाई पूर्वएमाओवादी पंक्तिले एक–अर्काविरुद्ध प्रहार गर्ने अस्त्र ठान्नु सतहमा प्रकटित तीतो सत्य हो । एउटै पार्टीभित्रका दुई पक्षले एक–अर्काविरुद्ध सार्वजनिक रूपमा उछित्तो काड्नु, नेकपाको दीर्घजीवनका लागि हानिकारक छ ।

एक अध्यक्षले अर्को अध्यक्षबाट असुरक्षित महसुस गर्नु, पार्टीले सरकार दोषी देख्नु र सरकारले पार्टीमा समस्या ठान्नुजस्ता होलसेल विषयले सही समाधान दिनै सक्दैन । यसका लागि वस्तुनिष्ठ समीक्षा जरुरी छ । नेकपा र वर्तमान सरकारसँग जनताले राखेको भरोसा र विश्वासलाई परिणाममा बदल्ने दायित्वबाट न त पार्टी उम्कन पाउँछ न त सरकार नै ।

इतिहासको तीतो सत्यले भन्छ– बहुमतको सदुपयोग नहुँदा देश र जनताले पटकपटक सास्ती खेपेका छन् । २०१५ र ०४८ का घटनाक्रमले यस्तै शिक्षा दिन्छ । एउटै पार्टीभित्र पात्र फेरेर दिएका क्षणिक समाधान दीर्घकालमा प्रत्युत्पादक भएका छन् । एक समय संसद्मा कांग्रेसको बहुमत हुँदाहुँदै कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार गिराएर सोही पार्टीका अर्का नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो । यो खेलोले न कांग्रेस जोगियो न त देश नै उँभो लाग्यो ।

विगतमा यस्तो रोग कांग्रेस हुँदै अरू पार्टीमा पनि स¥यो । एउटा पार्टीको बहुमत नभए पनि साझेदार पार्टीहरूको सहयोगमा तत्कालीन एमाले नेता माधव नेपाल नेतृत्वको सरकार विस्थापित गरेर एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बन्यो । एक समय राप्रपा नेता सूर्यबहादुर थापाको सरकार ढालेर अर्का पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाउन कांग्रेस र कम्युनिस्ट नै लहसिए । उही पार्टीको एउटा नेतालाई हटाएर अर्को नेताको नेतृत्वमा सरकार बनाउँदा थप एक थान सरकार, केही नयाँ मन्त्री र अस्थिरताबाहेक देशले केही पाएन । यो अतीतबाट शिक्षा लिने कि नलिने ? आजको मुख्य प्रश्न यही हो ।

स्थिर सरकार नेपालको समृद्धि पथमा एक अनिवार्य सर्त हो । स्थिरता, सुशासन र समृद्धि भाषणमा धेरै सुनिने, तर खोज्दा नभेटिने अतीतको यथार्थ हो । देशले नपहिल्याएको मूल गोरेटो यही थियो । गत निर्वाचनपछि जब देशले नयाँ बाटो पक्रियो तब समृद्धिको अभियानले आकार ग्रहण ग-यो । मिश्रित चुनाव प्रणाली अपनाउँदा पनि केन्द्र र ६ प्रदेशमा भारी बहुमतसहित नेकपाका सरकार बन्नु निकै ठूलो उपलब्धि हो । यो अवस्था निर्माण हुनुमा आमजनताको स्थिर सरकारप्रतिको दृढ चाहना एउटा महत्वपूर्ण आधार हो । यसकारण आजको संगीन अवस्थामा नेकपासामु अथाह अवसर र चुनौती दुवै छन् । समयको पदचाप र युगको चाहनालाई बुझिएन भने यस्तो अवस्था पुनः नआउन सक्छ ।

एक अध्यक्षले अर्को अध्यक्षबाट असुरक्षित महसुस गर्ने, पार्टीले सरकार दोषी देख्ने, सरकारले पार्टीमा समस्या भएको ठान्नेजस्ता होलसेल विषयले पार्टीमा समाधान दिन सक्दैन ।

विश्वभरि कम्युनिस्ट पंक्तिले धक्का खाइरहेको वेला नेपालमा भने हँसिया र हथौडाको झन्डा बोकेर लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टी दुईतिहाइको नजिक यही कालखण्डमा पुगेको छ । संघीय संरचनाको खाका कोर्ने, विकास र समृद्धिको नयाँ लोकमार्ग निर्माण गर्ने युगीन अवसर पनि यही समयमा जुरेको छ ।

कम्युनिस्टहरूले अवसर पाए गर्छन् भनी प्रमाणित गर्ने दुर्लभ मौका समयले नेकपालाई नै दिएको छ । गर्दा जस र नगर्दा अपजस सँगसँगै आउने पहलु हुन् । यसर्थ, नेकपालाई दीर्घजीवी बनाउने वा डाइनोसर बनाउने वर्तमानमा नै निहित छ । आमजनताले गरेको ‘डेलिभरी राजनीति’ को युग सुरु हुने अपेक्षा शतप्रतिशत न्यायोचित छ । यदि, तर, यद्यपि, तैपनि, हुनुपर्ने जस्ता शब्दावली प्रयोग गर्ने छुट यो समयमा छैन । आफ्नै कलहमा रमाउने, अरूलाई देखाउने, गाली गर्ने र असफल हुने कुनै सुविधा नेकपासँग छैन ।

चीनमा माओको पहिलो पुस्ताले समाजवाद निर्माणको सैद्धान्तिक एवं भौतिक आधार तयार पा-यो भने देङको दोस्रो पुस्ताले चिनियाँ विशेषतासहित समाजवाद निर्माण सुरु ग-यो । आजको पुस्ता सी जिनपिङको अगुवाइमा चिनियाँ राष्ट्रको बृहत् नवीकरण हासिल गर्न र समाजवादी आधुनिकीकरणलाई अगाडि बढाउने मार्गचित्रमा छ ।

नेपालमा भने यस्तो ऐतिहासिक मौका एउटै पुस्ताले पाएको छ । यी सबै अवसर तपाईंहरूको पुस्ताले पाएको छ । यो पुस्ता संघर्ष र अवसर दुवै हिसाबले भाग्यमानी ठहरिएको छ । यसर्थ, नयाँ पुस्ताले स्वाभिमानी, आत्मनिर्भर, विकासशील र समाजवादउन्मुख नेपालको बलियो जग तपाईंहरूकै पुस्ताबाट अपेक्षा गर्नु स्वाभाविक छ ।

नयाँ संविधान बनेपछि देशले राजनीतिक फड्को त मा-यो, तर त्यो फड्को अब जनताको दैनिकी र देशको समृद्धिमा प्रकट हुनैपर्छ । चुनावबाट देशभर स्थापित भएका कम्युनिस्ट सरकारले जनपक्षीय सत्ताका रूपमा काम गर्नैपर्छ । हरेक गाउँ र सहरबाट सकारात्मक सन्देश प्रवाह नगरी जनउत्तरदायी भूमिका खेलेको प्रमाणित हुन सक्दैन । शासकजस्ता जनप्रतिनिधि र सामन्तजस्ता नेताले त्यस्तो फरकपन दिनै सक्दैनन् ।

पुरानै ढर्राको निरन्तरता, जनता चुस्ने खेतीपाती, त्यही एकात्मक सोच र उही सामन्ती शैलीले क्रान्ति सम्पन्न भएको तथ्यलाई पुष्टि गर्दैन । कार्यशैली, व्यवहार र आचरणमा फरक देखिँदा मात्रै हिजो र आजमा फरक देखिने हो । नेकपा बन्नुको सार्थकता व्यवहारतः यसैबाट जाँचिनुपर्छ । यो सच्चाइलाई किमार्थ लत्याउन मिल्दैन । तसर्थ, जनताका सेवकरूपी जनप्रतिनिधि र जनउत्तरदायी सरकार बनाउने दिशातर्फ नेकपालाई हिँडाउनुको विकल्प नै छैन ।

माक्र्सले संकलन गरेको विचारको बिउ पुँजीसँगै नेपाली धर्तीका कर्मशील हजारौँ पुष्पलाल, मदन भण्डारी र मनमोहनहरू नेकपामा छन् । मदनले भनेझैँ विभिन्न क्षमता पहिचान गरी उनीहरूलाई उचित जिम्मेवारी दिन पार्टी चुक्नु हुन्न । लेनिनले विकास गरेको संगठनात्मक पद्धतिको मूल मर्म केही गरी भाँचिन दिनु हुन्न । पुष्पलालले थालेको वर्गसंघर्षको जगलाई अधुरो छाड्न हुन्न । जनताबाट सिक भन्ने माओको सारलाई लत्याउनु हुन्न ।

आजका जीवित माक्र्स, लेनिन र माओ भनेका निस्वार्थी श्रमजीवी जनता नै हुन् भन्ने आमसच्चाइ असली कम्युनिस्टले नकार्न हुन्न । नदी जतिसुकै लामो र गहिरो भए पनि मुहान सुक्दाको दिन सुक्नुपर्छ, पहाड जतिसुकै अग्लो भए पनि आधार छोड्दाको दिन भासिनुपर्छ । मुहान र आधार बिर्सने गल्ती कम्तीमा द्वन्द्वात्मक भौतिकवादीले गर्नु हुँदैन । जनताको रक्षा कवचबाट टाढिएर स्वार्थी समूहको एम्बुसमा पर्ने गम्भीर भुल नेकपा र यसको नेतृत्वले गर्नै हुँदैन ।

एकैछिन सोच्नुस् त, के नेकपा तपाईंहरूको कुस्ती धान्न सक्ने गरी बलियो भइसकेको छ र ? जनताहरू त्यस्ता दृश्य हेर्न उत्सुक छन् र ? देशको संविधान मौसम परिवर्तनपिच्छे इच्छाअनुसारका रेनकोट र छाता किन्न चाहिने तपाईंको पर्सको पैसा हो र ?

जनादेश भनेको भाँडाकुटी खेलेजस्तो खेलाँची हो र ? पार्टीलाई जीवन्त बनाउने बहसको प्रकृति यस्तै हुन्छ र ? यस्ता सयौँ प्रश्नको उत्तर खोज्न तपाईंहरूको धैर्य र संयम जरुरी छ । अरूलाई सम्हाल्नुपर्ने, देशलाई निकास दिनुपर्ने नेतृत्व तहलाई यसरी प्रश्न सोध्दा आफैँलाई नमीठो अनुभूति भएको छ । तपाईंहरूलाई तीतो प्रश्न गरेको निको हुनका लागि हो । यसमा कुनै स्वार्थ लुकेको छैन ।

विगतमा लोकप्रिय सरकार चलाएको अनुभव यहाँहरूसँगै छ । त्यस अनुभवलाई आजको चेतना र मागअनुरूप थप उचाइ दिनैपर्छ । समाजवाद स्थापनाको उडान भरेको जेटले आकस्मिक ट्रान्जिट खडा गरेर पाइलट फेर्न थाल्यो भने परिणाम के होला ? यात्रा पूरा होला वा रोकिएला ? सजिलै अनुमान लगाउन सकिन्छ । यसर्थ देश र पार्टीले लिने कुनै पनि निर्णय अस्थिरताको कारक बन्नु हुँदैन । गर्नैपर्ने थुप्रै काम थाँती राखेर गर्नै नहुने काममा अनावश्यक दहलफसल गर्नु व्यर्थ छ ।

अनुरोध छ, पार्टीभित्र देखिएको असमझदारीको भुंग्रोमाथि दुवै मिलेर पानी खन्याउनुस् । विरोधीहरूलाई मुखभरिको जवाफ दिनुस् । देश र जनताको हितको खातिर नयाँ उचाइबाट सोच्नुस् ।
(आचार्य अनेरास्ववियुका उपाध्यक्ष हुन्)

rashmi.pkr037@gmail.com

प्रतिक्रिया