कोरोनाको महामारीको संकटमा बिना पुर्व सुचना अस्पताल नआउने चिकित्सकमाथि लुम्बिनी प्रादेशिक अस्पतालले कारबाही गरेको छ।
सो अस्पतालले करारमा नियुक्त गरेका पाँच जना चिकित्सकलाइ बिना सुचना पछिल्लो ८/१० दिनदेखि अस्पतालमा हाजिर नभएको भन्दै कारवाही गरेको हो। अस्पताल प्रशासनले अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने र आकस्मिक विभागमा कार्यरत डा.प्रकृति कार्कीलाई सेवाबाट हटाइएको जानकारी दिएको छ।
नेपालमा पनि कोरोना संक्रमणका बिरामी भेटिन थालेपछि उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामाअनुपस्थित रहेको अस्पताल प्रशासनको दाबी छ ।
चिकित्सक अनुपस्थित भएको थाहा पाएपछि प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका थिए। मन्त्री बरालले सुत्केरी बिदा, काजक्रिया बिदा र बिरामी बिदा बाहेकका कुनै पनि बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरूलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
प्रदेश सरकारको स्पस्ट निर्देशन पछि उनीहरुलाई अस्पताल प्रशासनले कारबाही गरेको हो। अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए।
अहिले कोरोनाको कारण सबैतिर संकट भएको बेला सेवाबाट पछाडि हट्ने जो कोही लाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यो प्रक्रिया सुरू गरिएको उनले जानकारी दिए ।
अध्यक्ष भट्टराईले संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई कारबाही गरिने बताए।