कुकुर, बिरालोपछि अब बाघमा पनि कोरोना संक्रमण

कुकुर, बिरालोपछि अब बाघमा पनि कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ चैत्र २०७६
  • 5.6K
    Shares

मानव जातिको सभ्यतामा नै चुनौती बनिरहेको कोरोना भाइरस संक्रमण क्रमश: अन्य जनावरहरुमा पनि देखिन थालेको छ।  यसभन्दा अघि घरपालुवा जनावरहरु कुकुर र बिरालोमा कोरोना भाइरस संक्रमण देखिएकोमा म्युजियममा राखिएको एक बाघमा पनि कोरोना संक्रमण देखिएको छ ,

प्राप्त जानकारी अनुसार, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ ।

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ। चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ। यद्यपि भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ। विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ। चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन्। मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने अधिकारीहरुले बताएका छन्।

यसघि बेल्जियममा एक घरपालुवा  बिरालोमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ भने हङकङमा एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको थियो।

प्रतिक्रिया