कोरोना भाइरस संक्रमणका कारण लिवियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रीलको मृत्यु भएको समाचार सार्वजनिक भैरहंदा सोही संक्रमणकाकारण स्वास्थ्यमा समस्या देखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोंशन अस्पताल भर्ना भएका छन्।
प्राप्त समाचार अनुसार, लिबियाका पुर्व प्रम जिब्रिलको इजिप्टको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मार्च २६ मा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।
पूर्वप्रधानमन्त्री जिब्रिलको फेसबुक पेजमा पनि धार्मिक सन्देश अपडेट गरिएको छ, जुन त्यहाँको परम्पराअनुसार सामन्यतया कसैको मृत्यु हुँदा प्रयोग गरिन्छ ।
यसैबीच अर्को एक समाचार अनुसार, १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पताल भर्ना भएका छन् ।
आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।
बिबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनसार आफ्नो डाक्टरको सल्लाहअनुसार प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना भएका हुन् ।