धादिङ्गको चेपाङ्ग बस्तीमा दादुराको प्रकोप, दुई बालबालिकाको मृत्यु, एकसय ५० बालबालिका बिरामी

धादिङ्गको चेपाङ्ग बस्तीमा दादुराको प्रकोप, दुई बालबालिकाको मृत्यु, एकसय ५० बालबालिका बिरामी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ चैत्र २०७६
  • 3.6K
    Shares

धादिङ्गको चेपाङ्ग बस्तीमा दादुराको प्रकोप, दुई बालकको मृत्यु, एकसय ५० बालबालिका बिरामी

नेपालबाट उन्मुलन भएको भनिएको दादुराकाकारण धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढी बिरामी परेका छन् । तीमध्ये गम्भीर अवस्थाका दुई बालकलाई थप उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पताल पठाइएको छ।

डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको हो। अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो ।

बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीका अनुसार, वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । गाउँपालिकाको वडा–६ स्थित तार्केटार, वुङ्गपुङ्ग, भुमेडाँडा, वुमराङ्ग, सोलडाँडा, रोतेस, रुदिङ्ग, जरुङ्गमा धेरैजना बिरामी देखिएका छन् ।

गत फागुन ६ मा पहिलोपटक चरौदीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा चार बालकलाई उपचारका लागि ल्याइएपछि दादुरा फैलिएको पत्ता लागेको हो । चेपाङ बस्तीहरुमा दादुरा फैलिएको थाहा पाए लगत्तै फागुन ७ मा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली रोतेस, सोलडाँडालगायतका स्थान पुगेको थियो । ४५ जना दादुरापीडित पत्ता लगाएर ७ जनाको रक्त परीक्षणसमेत गरिएको थियो ।

२०७४ मंसिर १६ गतेधादिंग  जिल्लालाई ‘आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा’ गरिएको थियो । तर, विकट चेपाङ बस्तीमा बालबालिकाले खोप लगाउन पाएका छैनन् । गत साता छोरी अनिसालाई गुमाएकी ६ सन्तानकी आमा सोल्टीमायाले एउटै सन्तानले पनि खोप लगाउन नपाएको बताइन् । उनका अन्य दुई छोरीहरु १४ वर्षीया अनिता र ७ वर्षीया कविता पनि दादुराले थलिएका छन् ।

यसपटक मात्रै करिब २ सय जनालाई खोप लगाइएको दाबी गर्ने बेनीघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले  लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका सबै बालबालिकालाई दादुरालगायतका आधारभूत खोप दिइने जानकारी दिए । स्रोत कान्तिपुर

प्रतिक्रिया