कोरोनाका बिरामीको संकलित नमुना परीक्षण आजदेखि पोखरामा शुरु

कोरोनाका बिरामीको संकलित नमुना परीक्षण आजदेखि पोखरामा शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ चैत्र २०७६
  • 2.7K
    Shares

कोरोन परिक्षण मेशीन

अन्तत: विभिन्न हल्ला, बादबिबाद, आशंकाका बीच गण्डकी प्रदेशको राजधानी पोखरास्थित साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका बिरामीको संकलित नमुना परीक्षण बुधबारदेखि शुरु भएको छ।

संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई उपलब्ध गराएको कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामाग्री त्यस अस्पतालमा मंगलबार आएपछि कोरोनाका बिरामीको नमुना  बुधबारदेखि परीक्षण शुरु भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माले मंगलबार हेलिकप्टरबाट पोखरा ल्याइएका उपकरण जडान गरिसकिएको र उपकरणकै परीक्षण भईरहेको बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा यी उपकरण जडान गरिएको पनि उनले बताए। काठमाडौंबाट आएका प्राविधिकहरुले बोकेर ल्याएको नमूना यहाँको मेसिनमा पनि परीक्षण गर्ने र बुधबारदेखि बल्ल सर्वसाधारणको नमूना लिएर परीक्षण गर्न सकिने उनले जानकारी दिए ।

‘काठमाडौंबाट आएका प्राविधिकहरुले पोजेटिभ र नेगेटिभ देखिएका नमूना बोकेर ल्याएका छन्। तिनै स्याम्पललाई पोखराको मेसिनमा परीक्षण गर्दैछौ,’ उनले भने, ‘मेसिनले सही रुपमा काम गर्छ कि गर्दैन भनेर परीक्षण गरेका हौ। सही रिजल्ट दिएमा बुधबारदेखि सर्वसाधारणको नमूना पनि परीक्षण गर्न थालिनेछ।’

उनका अनुसार पोखराको ल्याबमा रहेका केही र मंगलबार भित्र्याइएको उपकरणको मद्दतले हरेक नमूनाको डेढघण्टामा रिपोर्ट दिन सकिनेछ।

पोखराको यो उपकरणमा परीक्षणका लागि सघाउन संघीय सरकारले तीनजना डेडिकेटेड प्राविधिक पनि पठाएको छ। ती प्राविधिकहरु कम्तिमा तीनमहिना पोखरामा बस्नेछन्। त्यस्तै प्रदेश सरकारले तालिम दिएर राखेका अरु प्राविधिक पनि रहेका छन्।

सरकारले गण्डकी प्रदेशलाई मंगलबार एकहजार थान पीपीइ (व्यक्तिगत सुरक्षा कवच) २० हजार थान पञ्जा, २० हजार थान मास्क, चारसय थान एन–९५ मास्क, १० थान थर्मोमिटर र एकसेट पोर्टेवल भेन्टिलेटर पनि उपलब्ध गराएको थियो। ती मध्ये पीपीइ, पञ्जा, मास्क, लगायतका सामाग्री प्रदेशभित्रका ११ जिल्लालाई पनि उपलब्ध गराउने उनले बताए। ‘

हेलिकप्टरबाट मंगलबार बिहान उपकरण र आवश्यक सामाग्री भित्रिएपनि ती उपकरण कहाँ राख्ने र कोरोना नमूना परीक्षण गर्ने भन्ने विषयमा विवाद समेत भएको थियो। प्रदेश सरकार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफल भएपछि प्रतिष्ठानकै प्रयोगशाला भवनमा उपकरण राखेर कोरोना भाईरस परीक्षण गर्ने सहमति जुटेको थियो। हेलिकप्टरबाट प्रतिष्ठान परिसरमै उपकरण र सामाग्री ओराले पनि कोरोना प्रयोगशाला कहाँ बनाउने भनेर प्रतिष्ठान र प्रदेश सरकारका उच्च पदाधिकारीबीच विवाद सुरु भएको थियो।

प्रष्ठिानका पदाधिकारीले आफ्नो प्रयोगशलामा ठाउँ नरहेको भनेर कोरोना परीक्षण गर्ने उपकरण राख्न चाहेका थिएनन। तर, प्रदेश सरकारले भने प्रतिष्ठानकै ल्याबमा राख्ने भनेपछि अन्योल समेत भएको थियो। तर पछि सहमति भएको थियो। प्रतिष्ठानका पदाधिकारीले नजिकैको क्षयरोग केन्द्रमा कोरोनाको ल्याब स्थापना गर्ने पक्षमा थिए।

प्रतिक्रिया