बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।
कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार एकसय ५८ यात्रुको खोजी थालिएको थियो । खोजीकै क्रममा बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि उनी आफ्नै घरमा बसेको बताइएको छ ।
नेपालमा अहिलेसम्म फेला परेका पांच जना कोरोना भाइरस संक्रमित बिरामी मध्ये एक निको भएर घर फर्किसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।