नेपालमा पहिलोपटक राजधानीबाहिर धनागढ़ीमा कोरोना भाइरस (कोभिड-१९) का बिरामी फेला परेका छन्। उनी नेपालमा कोरोना संक्रमित चौंथो व्यक्ति हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन् र उनको अवस्था सामान्य छ।
दुबईबाट फर्किएका ३४ वर्षीय ती युवक चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
जनस्वास्थ्य प्रयोगशालामा हालसम्म आठसय दुई जनाको नमुना परीक्षण गरिएकोमा चार जनालाई कोरोना संक्रमण भएको पुस्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन्।