फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । शंकास्पद करिब ६ सय जनामा परीक्षण गर्दा एक जनाको रिर्पोट ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए ।
नेपालमा कोरोनाको संक्रमण देखिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । उनी निको भइसकेका छन् ।
चिकित्सकहरू भने संक्रमण देखिए पनि आत्तिनुपर्ने कारण नभएको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘विश्वभरि फैलिएको कोरोना माहामारीको संक्रमण हामी देखिनु अस्वाभाविक होइन तर देखियो भन्दैमा अत्तालिनुपर्ने कारण भने छैन ।’ एक जनामा देखियो भन्दैमा सारा नेपालीहरू आतंक हुन नहुने उनको सुझाव छ ।
जनस्वाथ्य वैज्ञानिक डा. समीरमणि दीक्षित आफैंलाई लागे पनि हतास हुन नहुने बताउँछन् । उनी भन्छन्, ‘कोरोना लागिहाल्यो भने पनि मृत्यु हुने होइन, बरु आत्मबल दह्रो बनाउनुपर्दछ ।’ विश्वका प्रायः सबै देशमा पुगिसकेको कोरोनाको संक्रमण देखिए पनि नआत्तिएर बच्ने उपाय खोज्नुपर्ने उनको भनाइ छ ।
कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न कदम चालेको छ । यस्तो बेला सरकारले गरेको निर्णयहरु पालना गर्दै प्रत्यक्ष व्यक्तिले आफू सुरक्षित हुन आवश्यक सावधानीहरु अपनाउनुपर्छ ।कोरोनाबाट कसरी सुरक्षित रहने त ? केही सतर्कताका उपाय यहाँ उल्लेख गरिएको छ–
नियमित हात धुने
कोरोना भाइरसबाट बच्ने एउटा उपाय नियमितरुपमा हात धुनु हो । मानिसले विभिन्न सम्पर्कको माध्यमबाट हातमा भाइरसका जीवाणु सारेको हुन सक्छ ।जस्तो कि कसैसँग हात मिलाउँदा, कोरोनाको जीवाणु भएको ढोकाको ह्याण्डल वा कुनै सतहमा छुँदा भाइरसहरु हातमा सर्छन् ।
हात नधोई अनुहारमा छुँदा उक्त भाइरस हाम्रो शरीरमा प्रवेश गर्छन् र त्यसबाट संक्रमण फैलिन्छ । त्यसबाट बच्न बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ । यसले भाइरसको संक्रमणबाट बचाउन सहयोग गर्छ ।
घर बाहिर ननिस्किने
कोरोना भाइरस कुनै लक्षण नदेखिएका मानिसबाट पनि सर्न सक्ने विभिन्न अध्ययनले देखाइसकेका छन् । कुन मानिसलाई भाइरसको संक्रमण छ भन्ने बाहिरबाट हेरेर थाहा हुँदैन । त्यसैले घरबाहिर निस्किँदा भाइरस आफ्नो शरीरमा प्रवेश गर्ने जोखिम बढी हुन्छ ।
सकेसम्म घरमा नै बस्दा भाइरसबाट बच्न सकिन्छ । बाहिर निस्किनै पर्ने अवस्था आए यथेष्ट सावधानी अपनाउनुपर्छ । भाइरस रोक्ने खालका कपडा र मास्क अनिवार्य लगाउनुपर्छ । अनावश्यक भीडभाडबाट टाढै बस्नुपर्छ भने बाटोमा हिँड्दा पनि अर्को मानिससँग केही दूरी कायम राख्नु राम्रो हुन्छ ।
सार्वजनिक स्वास्थ्य सुझावको पालना
कोरोना भाइरसबाट बच्ने एक महत्वपूर्ण उपाय स्थानीय स्वास्थ सुझावको पालना गर्नु हो । स्थानीय स्तरमा भाइरसको प्रकोप वा जोखिम कत्तिको छ भन्ने आधारमा स्थानीय स्वास्थ्य निकायले सुझाव दिने गर्छ ।
त्यसैले उक्त निकायले दिएको सुझावलाई अनिवार्य रुपमा पालना गर्नाले कोरोना भाइरसबाट बच्न सकिन्छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले सकेसम्म घरमा नै बस्न सुझाव दिइसकेको छ ।
प्रतिरक्षा क्षमता बढाउने
कुनै पनि रोगसँग लड्न मानिसको प्रतिरक्षा क्षमता निकै महत्वपूर्ण हुन्छ । कोरोना भाइरसले पनि कमजोर प्रतिरक्षा क्षमता भएका मानिसलाई आक्रमण गर्छ ।
त्यसैले यो रोगबाट बच्न आफ्नो प्रतिरक्षा क्षमता बढाउनु आवश्यक छ । त्यसको लागि आफ्नो आनिबानीमा ध्यान दिनुपर्छ । स्वस्थ खाना र स्वस्थ बानीले पनि मानिसको प्रतिरक्षा क्षमता बढाउँछ ।
शान्त रहने प्रयास
कोरोना भाइरसबाट बच्न सबैभन्दा पहिला आफ्नो मानसिक स्वास्थ्यलाई बलियो पार्नुपर्छ । कुनै हल्ला वा अफवाहबाट प्रभावित नभई आफ्नो सुरक्षाको लागि आवश्यक काम गर्दै जानुपर्छ । धेरै डराउने, आत्तिने गर्नु हुँदैन ।
यो एउटा कमजोर भाइरस हो । यो भाइरसको संक्रमण भएको खण्डमा पनि आफ्नो स्वास्थ्यको राम्रो स्याहार गरेको खण्डमा निको हुन्छ ।
विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् भने २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । त्यसैले यो भाइरससँग धेरै डराउनुभन्दा पनि सावधानी अपनाउनु जरुरी हुन्छ ।
‘सामना गरौं’
डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण ३ लाख ४० हजारमा देखिएको छ । उनीहरू मध्ये एक लाख निको भइसकेका छन् ।
आवश्यक सावधानी अपाउन सक्दा १९२ देशमा देखिएको कोरोनाबाट बच्न सकिने जानकारहरू बताउँछन् । डा. दीक्षित सरकारले लक डाउनलगायतका पूर्व तयारी गरेकाले आत्तिनु नपर्ने बताउँछन् ।
‘भोलि संक्रमितको संख्या थपिँदै गइहाल्यो भने पनि आइसोलेसनमा बस्नुपर्ने आइसोलेसनमा जान्छ, क्वारेन्टाइनमा जानुपर्ने क्वारेन्टाइनमा जान्छ’ डा. दीक्षित भन्छन्, ‘लक्षण देखियो भने घरमै बस्नुस्, लक्षण कडा देखियो भने स्वास्थ्यकर्मीलाई जानकारी दिनुस् ।’
उनी भन्छन्, ‘म आफैंलाई लागिहाल्यो भने पनि सामना गर्न सक्छु भन्ने हिम्मत् राख्नुस्, त्यो सकिन्छ पनि ।’
‘सरकारले थप योजना ल्याओस्’
अहिले विदेशबाट फर्किएका नेपालीमा संक्रमण देखिएको छ । कुनै टोल वा गाउँमा देखिए के गर्ने भन्ने विषयमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले योजना बनाउनु पर्ने देखिन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. मरासिनी एक जनामा देखिए के गर्ने र टोलमा ८–१० जना संक्रमित भेटिए के गर्ने भन्ने फरक फरक योजना बनाउनु पर्ने बताउँछन् । एक जना मात्रै संक्रमित छ भने ऊ पछिल्लो दुई हप्ता क-कसको सम्पर्कमा थियो भनेर ट्रेसिङ गर्नुपर्ने तर एकभन्दा बढी संक्रमित भेटिए त्यस्तो ठाउँलाई शील गर्नुपर्ने उनको सुझाव छ ।
डा. मरासिनी शील गर्नका लागि सरकारले स्वास्थ्य सुविधालगायतका प्याकेज तयारी गर्नुपर्ने बताउँछन् ।
आफूले प्रयोग गर्ने ल्यापटप, राहदानी, नोटदेखि घरको भर्याङ रेलिङ सफा गर्ने, अरु मान्छेको सम्पर्कमा नजाने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।
डा. मरासिनी भन्छन्–‘ससानो सावधानीले आफू र अरुलाई कोरोनाबाट जोगाउन सकिन्छ ।’