नेपाल सरकारले भोलि विहान १० बजेदेखि आगामी एक सातासम्म भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।
सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत गरेका छन् । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।
मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय गरेको समाचारस्रोतले जानकारी दिएको छ।