कोरोना प्रकोप : एसइइ लगायत सबै परिक्षा स्थगित, शैक्षिक संस्था चैत मसान्तसम्म बन्द, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको आग्रह

कोरोना प्रकोप : एसइइ लगायत सबै परिक्षा स्थगित, शैक्षिक संस्था चैत मसान्तसम्म बन्द, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ चैत्र २०७६
  • 3.6K
    Shares

विश्वमा घातक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिन मुलुकभर सम्पूर्ण चैत मसान्तसम्म शैक्षिक संस्था र गतिबिधिमा रोक लगाएको छ भने २५ जनाभन्दा बढी मानिसलाई भेला हुन् पनि रोकेको छ।

सरकारले आजदेखि हुने भनेको माध्यमिक शिक्षा (एसईई) परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ भने सम्पूर्ण शक्षिक संस्था, स्कुल, कलेज सबै बन्द गर्न निर्देशन दिएको छ।

चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा पनि स्थगित

विश्वविद्यालयहरूले चैतमा लिन लागेको परीक्षाहरू पनि स्थगित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

यसैबीच सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।

समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।

 

 

५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

चैत मशान्तसम्म विद्यालय र कलेज बन्द

बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ । चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।

कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।

सिनेमा हल, जिम र डान्सबार पनि बन्द

बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

सपिङ मलमा स्यानिटाइजर अनिवार्य

बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया