नेपाली नक्कली नागरिकता बनाउने कार्यमा संलग्न एक पुर्व गाबिस सचिवलाई बिरगंज प्रहरीले बाकसमा लुकिरहेको अवस्थामा पक्राउ गरेको छ। पर्सा जिल्लाको बहुदरमाई – ७ रामनगरी स्थायी बसोबास भै हाल वीरगञ्ज महानगरपालिका–१६ मा घर बनाएर बसोबास गर्ने पुर्वगाविस सचिव विन्दाप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो। उनी पर्सा जिल्लाको साविक डोकैला बहुअरी गाविस सचिव थिए।
नक्कली नागरिकता बनाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले साहको घरमा आइतबार बिहान छापा मारेको थियो। प्रहरीले छापा मार्ने क्रममा सोही घरमा बाहिरबाट ताल्चा लगाइएको एक कोठा खोली हेर्दा सो कोठाको एक बाकसभित्र लुकी बसेको अवस्थामा साहलाई प्रहरीले पक्राउ गरेको थियो भने अर्को ताल्चा फोडेर हेर्दा दुई वटा सिरकभित्र चार दर्जन बढी नक्कली नागरिकता, विभिन्न व्यक्तिको फोटो, जन्मदर्ता, विवाहदर्ता प्रमाणपत्र, नागरिकता बनाउन भर्नुपर्ने अनुसूची फारम समेत बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले नक्कली नागरिकताका सम्बन्धमा शंकास्पद व्यक्ति पक्राउ परेको जानकारी दिइन् । उनले अनुसन्धानपछि विस्तृत जानकारी दिन सकिने बताइन् ।
तीन दिन अघि नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी बनाउन पुगेका अभिषेक साह पक्राउ परेका थिए । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरी विन्दा साहसम्म पुगेको हो । नक्कली नागरिकता बनाउने कार्यमा गिरोह नै संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । तर विन्दा साह पक्राउ परेको कुरा सार्वजनिक भइसकेकोले गिरोहका थप सदस्य पक्राउ गर्न प्रहरीलाई कठिन हुने एक प्रहरी अधिकारीले बताए ।
साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ । छापा मार्दा साह कै तीन वटा नागरिकता बरामद प्रहरीले बताएको छ । साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाउने गरेको बयान प्रहरी अधिकारीलाई दिएका छन् ।
पर्साको साविक डोकैला बहुअरी गाविस सचिव हुँदा साहमाथि आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । मुद्दामा विशेष अदालतले साहलाई दोषी ठहर गर्दै ५ महिना कैद सजायको फैसला गरेको थियो । उनी कैद सजाय भुक्तान गरेर २ वर्ष अगाडि छुटेका थिए ।