चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ ।
जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।
चीनको हुवानबाट सुरु यो भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो फैलँदै गएको हो । वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । चिनियाँ वैज्ञानिकहरुले बिरामीमा भेटिएका भाइरसको नमुना संकलन गरी अध्ययन गर्दैआएका छन् ।
के हो कारण ?
कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।
के हो कोरोना ?
वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।
कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।
यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।
कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।
हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
नेपालमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन। यसको अर्थ नेपालीमा कोरोना भाइरसको संक्रमण नै नभएको पनि हुन सक्छ या भएर पनि हामीले थाहा नपाएका हुनसक्छौं किनभने हामीले गम्भीरताका साथ परीक्षण गरेका छैनौं।
विभिन्न देशमा समुदायमा कोरोना भाइरस छ कि छैन भनेर धेरै मान्छेलाई परीक्षण गरिएको छ। त्यसरी परीक्षण गर्दा ‘केसहरू’ पनि थाहा हुन्छ। ठूलो मात्रामा परीक्षण नगरेकाले नेपालमा कोरोना भाइरस आएकै छैन भन्न सक्ने अवस्था छैन।
काेराेना भाइरस संक्रमणका लक्षण
– रुघा खोकी लाग्नु,
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
कसरी हुन्छ संक्रमण ?
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।
भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।
भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।
कसरी बच्ने ?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– नियमित साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
कोरोनाबाट जोगिन एउटा व्यक्तिले के गर्न सक्छ?
कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत तवरबाट पनि हामीले केही साना तर महत्वपूर्ण कुरामा ख्याल पुर्याउनु पर्छ।
पहिलो सचेतता भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो। रूघा लागेको मानिससँग कम्तिमा १ मिटरको दूरी कायम राख्नुपर्छ।
आफूलाई खोकी लागेको छ भने मास्क लगाउनुपर्छ। सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ। मास्क छैन भने कुइनोले हात छेकेर हाछ्युँ गर्नुपर्छ, त्यस्तो गर्न सम्भव नभए हातले छेकेर गर्नुपर्छ। तर त्यसपछि हात धोइहाल्नुपर्छ।
सबैले बेला बेलामा साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ। हात धुँदा कम्तिमा २० सेकेन्ड सबैतिर साबुन लगाएर मिच्नुपर्छ। यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ। हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ।
काठमाडौंमा पनि कोरोना फैलिन लागेको छ कि भन्ने धेरैलाई डर छ। यस्तो बेलामा सबैभन्दा बढि वृद्धवृद्धालाई जोगाउनु पर्छ। उनीहरूका अगाडि आफूले हाछ्युँ नगर्ने र सकेसम्म भीडभाडमा नलैजान गर्नुपर्छ।
अनावश्यक रूपमा हात मिलाउनु हुँदैन। सकेसम्म नेपाली नमस्कार गर्ने अथवा नछोइकन अरु अभिवादन गर्नु राम्रो हो। हातले मुख, नाक, आखा छुने काम गर्नु हुँदैन। धेरै नेपालीको यो बानी रहेको छ जसलाई हटाउन जरूरी छ।
होलीमा के गर्ने?
फागु पूर्णिमा आउँदैछ। यो बेला रंगको प्रयोग गर्दा होसियारी अपनाउन जरूरी छ। फोहोर पानीमा रंग प्रयोग भएको छ भने त्यसले असर गर्छ। मुखमा पर्यो भने पेटसम्बन्धी समस्या आउन सक्छ। छाला र आँखामा एलर्जी हुन सक्छ।
होली खेल्दा सिधा सम्पर्क हुने र शरीरमा छुने गरिन्छ। रूघाखोकी लागेको मान्छेलाई अनुहारमा रंग पोतियो भने आफ्नो हातमा र्याल लाग्न सक्छ। त्यसले पनि संक्रमण बढ्न सक्छ। होली नै नखेल्ने भनेर त म भन्दिनँ तर राम्रोसग साबुन पानीले हात भने धुनैपर्छ।
ठूलो संख्यामा भेला नहुनेलगायत काम गर्नु हुँदैन तर ४-५ जना मान्छे भेला भएर होली खेल्दैमा केही बिग्रदैँन। रूघाखोकी लागेकाले भने होली खेल्नै हुँदैन।
अहिले कोरोनाको ‘केस’हरू देखिएका छैनन्। ‘केस’ देखिए पनि त्रास गरेर हुँदैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही परीक्षणहरू दिन्दिनै भइराखेकै हुन्छ। हामीले अस्पतालबाट दिन्दिनै केही पठाइराखेकै हुन्छौं तर अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसले छोएको प्रमणित भएको छैन।
अझै पनि हामीले परीक्षणको दायरा बढाउनु पर्छ। त्यति भन्दाभन्दै अहिलेसम्म नदेखिएकाले तत्कालै आत्तिहाल्नु पर्दैन।
अहिले देखिएको कोरोना भाइरस नयाँ हो। यसले मानिसलाई कस्तो व्यवहार गर्छ भन्ने थाहा भइसकेको छैन। चिसोमा बढी र गर्मी लागेपछि कम भए त सबैको लागि राम्रो हुन्थ्यो।
सिंगापुर नेपालभन्दा बढी गर्मी हुने ठाउँ हो त्यहाँ पनि कोरोना देखिएको छ। मेरो अनुमानमा गर्मी बढेपछि यसको प्रभाव केही कम हुन्छ होला तर तर पूरै हराउँदैन।
सरकारले के गर्नुपर्छ?
साँच्चै कोरोना भाइरसको केसहरू बढ्यो भने नियन्त्रणको तरिका बदल्नु पर्छ। अहिले सीमामा नियन्त्रण गर्ने, कोरोना संक्रमितलाई नेपालभित्र प्रवेश गर्न नदिने,२-४ जनालाई देखियो भने त्यसलाई उपचार गर्ने अनि उसको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइन गर्ने गरेका छौं। यसलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ।
धेरै जनामा संक्रमण देखिन थालेपछि २-४ जनालाई क्वारेन्टाइन गरेर अस्पतालमा उपचार गरेर सम्भव छैन। किनभने त्यो अवस्थामा सबैलाई फैलिन्छ त्यस्ता बिरामी धेरै हुन्छन्। त्यो बेला हामीले एकदमै सिकिस्त लक्षण भएका मान्छेलाई मात्रै अस्पतालमा लैजाने र ‘सेल्फ आइसोलेसन’ गर्ने गर्नुपर्छ। त्यस्तो अवस्था आयो भने जमघटमा नजाने, सरकारले सिनेमा हलहरु बन्द गर्न पर्ने हुनसक्छ। तर अहिलेनै हामी त्यो अवस्थामा छैनौं।
अहिले सरकारले पनि चुस्तता देखाएको छ। सीमा नाकामा स्क्रिनिङ गर्ने, बाहिरबाट आउनेसँग सतर्कता अपनाउने गरेको छ। सँगै स्वास्थ्यकर्मीलाई मास्क र व्यक्तिगत सुरक्षाका सामाग्रीको अभाव छ।
केसहरू देखिन थाल्यो भने मौज्दात मास्कले पुग्दैन त्यसैले यसको उत्पादन बढाउन पर्छ। त्यसको लागि सरकारले औद्योगिक क्षेत्रलाई, विभन्न खालका ‘इनोभेसन’ गर्ने संस्था र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थालाई बोलाएर मास्क बनाउन के गर्न सकिन्छ भनेर योजना बनाउन जरूरी छ।
संक्रमण हुन नदिन गर्नुपर्ने काम धेरै छ।अक्सिजनको सप्लाई चाहिन्छ, औषधी चाहिन्छ। चीनबाट धेरै औषधीको कच्चा पदार्थ आउँछ तर अहिले यो क्रम रोकिन थालेको छ जसले गर्दा यहाँ बन्ने औषधीको अभाव हुन सक्छ। त्यसैले यसको मौज्दात राख्ने अथवा स्टक राख्नेमा विचार गर्नुपर्छ। थुप्रो मानिसलाई सघन उपचार चाहिन सक्छ। यसलाई कसरी बढाउन सकिन्छ भनेरसमेत गृहकार्य गर्न जरूरी छ।