बिप्लवको शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष धनुषाबाट पक्राउ, कार्यक्रमस्थलबाट अछाम सेक्रेटरी गिरफ्तार

बिप्लवको शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष धनुषाबाट पक्राउ, कार्यक्रमस्थलबाट अछाम सेक्रेटरी गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ फाल्गुन २०७६
  • 8.2K
    Shares

गौरीनारायण मण्डल

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा. निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरीनारायण मण्डल गएराती धनुषाबाट पक्राउ परेका छन् ।

मिथिला बिहारी नगरपालिका ३ बस्ने ५० वर्षीय मण्डललाई प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले आइतबार राति १२ बजेतिर धनुषा कै गणेशमान चारनाथ नगरपालिका ५ स्थित सुखवनी खोलाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार संगठित अपराध, बम बिस्फोट तथा कर्तव्य ज्यान मुद्दाका उनी फरार प्रतिवादी हुन् ।

झण्डै तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम बिष्फोटमा उनको संलग्न रहेको प्रहरीको भनाइ छ ।

यसै गरी नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनीहरुलाई अछाम जिल्लाको धमालीबाट गिरफ्तार गरेको हो ।

धमालीको स्थानीय विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरी स्रोतका अनुसार विद्यालयभित्र कार्यक्रम गरिरहेका बेला गोप्य सूचनाका आधारमा उनीहरु गिरफ्तार परेका हुन् ।

बझाङ घर भएका मल्ल केहि समयदेखि अछाममा सेक्रेटरीका रुपमा खटिएका थिए । उनीसँगै पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा तुर्माखाँद गाउँपालिका इन्चार्ज तिलक विष्ट र पार्टीका सदस्य प्रेमबहादुर बुढा रहेका छन् ।

पक्राउ परेका तिनै जनालाई सदरमुकाम मंगलसेनमा रहेको जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक भारतीले बताए ।

प्रतिक्रिया