जातिय पहिचान सहितको राज्य मागको नारा कमजोर बनिरहेको अवस्थामा पोखराका मगरहरुले एकजुट भएर जातिय पहिचान सहितको राज्य मागको नारा घन्काएका छन्।
नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा ३८ औं राष्ट्रिय मगर एकता दिवस मनाउन पोखरामा भेला भएका मगरहरुले जातिय पहिचान सहितको राज्य मागको नारा घन्काएका हुन्।
उक्त कार्यक्रममा कास्की जिल्लामा रहेका ३७ वटा मगर समाज अन्तर्गत संगठित भएका करीब २ हजार मगरहरुको उपस्थित रहेको थियो । विभिन्न झाँकी, बाजागाजासहित पोखराको महेन्द्रपुलबाट शुरु भएको र्याली नयाँबजार हुँदै पोखरा रङ्गगशाला अगाडी रहेको मगर सघंको सभाहलमा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

त्यस कार्यक्रमाम बोल्ने सत्तारुढ दल नेकपाका प्रमुख सचेतक गायत्री गुरुङ्ग लगायत अधिकांश बक्ताहरुले नेपालमा रहेका हरेक जातिका भाषा-संस्कृति संरक्षणका लागि आदिबासी तथा जनजातिहरु नै एकजुट हुनुपर्ने आवस्यकता औल्याउदै त्यसमा सरकारको सहयोग अपरिहार्य रहेको कुरामा जोड दिएका थिए। उनीहरुले आफ्नो मातृभाषामा अध्ययन गर्ने ब्यबस्था गरिदिन पनि सरकारसंग उनीहरुले माग गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका वन उद्योग तथा पर्यटनमन्त्री विकास लम्सालले आफ्नो भाषा संस्कृति संरक्षण गर्नमा सम्पूर्ण मगरहरु एकजुट भएकोमा प्रसंशा गर्दै मगरहरुको यस सराहनीय काममा प्रदेश सरकारले सहयोग गर्ने बचन दिए।
कार्यक्रममा नेपाल मगर संघका १०० जना संरक्षकहरुको साथै संघका निर्वतमान अध्यक्षहरुसहित ८० वर्ष उमेर पुगेका वृद्धाहरुलाई पनि सम्मान गरिएको थियो भने पोखराका पुराना कलाकार एबम पत्रकार तिलक पुनले आदिबासी तथा जनजाति र मगरहरुका बारेमा संकलन गरेका पुस्तक तथा पाठ्य सामाग्रीहरुको प्रदर्शन गरेका थिए। त्यस अवसरमा कौडा, सोरठी, ख्याली लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत गरिएको थियो।
२०३९ सालमा संघका संस्थापक अध्यक्ष हेम बहादुर पुनको अध्यक्षतामा तनँहुमा भएको राष्ट्रिय सम्मेलनले प्रतेक वर्षको फाल्गुन १५ लाई नेपाल मगर संघको स्थापना दिवसको रुपमा मनाउने निर्णय भएको थियो । सोहि अनुरुप आज नेपाल मगर संघको स्थापना भएको दिनको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।


