नेपाली सेनाले चार वर्षपछि बहुराष्ट्रिय शान्ति सेनाको नेतृत्व गर्ने मौका पाएको छ। ४० भन्दा बढी मुलुकका सेनाको नेतृत्व गर्ने मिसन प्रमुख एवम् फोर्स कमान्डरको जिम्मेवारी उपरथी ईश्वर हमालले पाएका हुन्। हमाल यो पदमा पुग्ने सातौं नेपाली जनरल बनेका छन्।
आर्मी कमान्ड तथा स्टाफ कलेजका शिक्षा अधिकृत हमाललाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नियुक्तिपत्र पठाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रसंघीय मिसनमा कमजोर मुलुकबाट सैनिक र बलियो मुलुकबाट माथिल्लो तहका व्यक्ति नियुक्त गर्ने चलन छ।
शान्ति मिसनमा नेपालबाट हाल पाँच हजार बढीको उपस्थिति रहे पनि संख्याका आधारमा नेपालले माथिल्लो पद पाउन सकेको छैन। यतिबेला नेपालबाट सेक्टर कमान्डरसमेत छैन। पर्यवेक्षक संख्या भने एक सय ६० पुगेको छ। हमालले कठिन प्रतिस्पर्धाबाट जिम्मेवारी पाएको सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
नेपालले आफ्नो सुरक्षाफौजको उपस्थितिअनुरूपको पद पाउन लबिङ गर्दै आएको छ। तर कूटनीतिक लबिङ अभाव रहेको गुनासो सैन्य अधिकारीहरूको छ। न्युयोर्कमा रहेको मिसन र सुरक्षा परिषद्को पाँचै सदस्य राष्ट्रमा रहेका दूतावासले लगातार यस्ता विषयमा लबिङ गर्नपर्छ। राजदूत सक्रिय नहुँदा नेपालले यस्ता पद पाउन सकेको छैन।
सुरक्षा परिषद्का स्थायी सदस्य मुलुक अमेरिका, बेलायत, चीन, फ्रान्स र रुसको सहमतिपछि राष्ट्रसंघ मुख्यालयले हमाललाई फोर्स कमान्डर नियुक्त गरेको हो। हमाल अब पश्चिम एसियाको गोलानहाइटस्थित राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व सम्हाल्न जानेछन्। त्यहाँ नेपाललगायत ४० मुलुकका सैनिक खटिएका छन्।
अमेरिकाबाट ‘डिफेन्स कोर्स’ गरेका उपरथी हमाल मातहत सेक्टर कमान्डर रहनेछन्। उनी नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखसमेत हुन्। यसअघि उनले चारपटक शान्ति मिसनमा विभिन्न पदमा रहेर सेवा गरिसकेका छन्।