गाडी सिक्ने क्रममा बच्चालाई किचेर मारेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव सुवेदीलाई पक्राउ गरेको छ ।
पर्वत जिल्लाको कुस्मा – ९ घर भई हाल नवलपरासीको गैडाकोट – १ बस्ने शिव सुवेदीलाई आइतबार विहान गैडाकोटबाट प्रहरीले पक्राउ गरेको हो को छ ।
गएको माघ ७ गते हुप्सेकोटमा ग १ झ ३८९ नम्बरको हुप्सेकोट गाउँपालिकाको सरकारी जीप लिएर सिक्ने क्रममा सोजीपको ठक्करबाट ४ बर्षीय बालक दीप गाहाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ४ जना घाइते भएका थिए । सवारी चालक अनुमति पत्र(लाईसेन्स) नभएका उनी त्यसपछि भागेका थिए।

प्रशासन शाखाका अधिकृत शिव सुवेदीलाई सवारी ज्यान मुद्दामा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
यसैबीच सवारी दुर्घटनाका विषयलाई लिएर हुप्सेकोट गाउँपालिकामा लागेको ताला खुलेको छ । फरार भएका सुवेदीलाई गैडाकोट प्रहरीले आइतबार विहान नियन्त्रणमा लिएपछि ताला खुलेको हो ।
स्थानीयले दोषीलाई कारवाही पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च माग गर्दै तालाबन्दी गरेका थिए ।