विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्रीद्वय डम्बर श्रेष्ठ र छविराज पन्तबिरुद्ध पक्राउ पुर्जी जारी गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । आइतबार श्रेष्ठसहित २० जनाको नाममा हद म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा मन्त्री बनेका श्रेष्ठसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो माग दाबी गरेको छ । यस्तै, उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार आठ वर्षदेखि दशवर्षसम्म कैद सजाय हुनुपर्ने अदुअआले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै अर्का पूर्वमन्त्री छविराज पन्तलाई पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने गरी म्याद जारी गरेको छ । पन्तले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिव भएका बेलामा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ ।
विशेष अदालतले अदुअआले ललिता निवास प्रकरणमा एकसय ७५ प्रतिवादी बनाएका मध्ये ५४ जनालाई उपस्थित हुन १५ दिने म्याद जारी गरेको हो ।
ललिता निवासको एकसय ३६ रोपनी सरकारी÷सार्वजनिक जग्गा हिनामिना गरेको भन्दै अदुअआले गत माघ २२ गते एकसय १० जनालाई कैद सजाय र विगो माग तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।