चौतर्फी दबाबपछि अन्तत: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबका बीच बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
सञ्चारमन्त्री बासकोटाको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफुलाई आएको जानकारी दिएका थिए । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’
संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ ।