त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले मंगलबार आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई परिपत्र गरी स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।
त्रिविअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले गरेको परिपत्रमा ‘विशेष कारणबस’ स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको उल्लेख छ ।
स्मरणीय कुरा के छ भने बिप्लव नेतृत्वको ने.क.पा. समर्थित अखिल (क्रान्तिकारी)ले आफ्ना शिर्षस्थ नेताहरु गिरफ्तार गरेको बिरोधमा स्ववियु चुनाब हुने दिन फागुन १४ गते देशव्यापी शैक्षिक हडताल घोषणा गरेको थियो।
स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबमा भाग लिने वातावरण मिलाउन माग गर्दै देशव्यापी मागपत्र बुझाएको बिप्लव नेतृत्वको ने.क.पा. समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाल र कोशाध्यक्ष नरेन्द्र बिक गिरफ्तार भएका छन्।
देशव्यापी शैक्षिक संस्थाहरुमा बलियो उपस्थिति रहेको अखिल (क्रान्तिकारी)का नेता तथा कार्यकर्ताहरुलाई ब्यापक मात्रामा सरकारले गिरफ्तार गरिरहेको अवस्थामा स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब गर्न उचित नहुने निष्कर्षमा त्रिभुवन बिस्वबिद्यालायाका पदाधिकारीहरु पुगेको अनुमान गरिएको छ।
यसैबीच विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर आफ्ना नेता तथा कार्यकर्ताको ब्यापक गिरफ्तारीका बिरुद्ध संघर्षका कार्यकर्महरु घोषणा गरेका छन्।
जारी विज्ञप्ति अनुसार, फागुन ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ । हिजोमात्रै सोही संगठनका कोषाध्यक्षलाई समेत प्रहरीले गिरफ्तार गरेको छ ।
उता हालै नेतृत्व पाएको नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि त्रिविसँग केही समय माग गरेको थियो । सत्तारुढ नेकपासम्बद्ध अनेरास्ववियू पनि नेबिसंघको मागमा सकारात्मक थियो ।
यद्यपि नेबिसंघ अध्यक्ष राजिव ढुंगाना भने त्रिविको रेक्टर पद रिक्त रहेकाले स्ववियु निर्वाचनमा विलम्ब भएको दाबी गर्छन् । अनेरास्ववियूले भने तत्काल स्ववियु निर्वाचनको नयाँ मिति तोक्न माग गरेको छ ।
हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ सालपछि हुन सकेको छैन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।