बुटवल । अड्डासारको नाममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । दाङबाट गिरफ्तार परेका मध्ये दाङ इन्चार्ज यमलाल कटुवाल, इन्द्रबहादुर ओली र रामबहादुर थापालाई बर्दियाबाट परासी लैजाने क्रममा बाँकेको कुसुममा चरम शारिरीक र मानसिक यातना दिएको पारिवारिक स्रोतले बताएको छ ।
बन्दीहरु मध्ये रामबहादुर थापा विरामी रहेको र नियमित खाने औषधी समेत खोसेर फालिएको, दिशापिसाब गर्न नदिएको र खानेकुरा केही खान नदिएर चरम यातना दिएको परिवारले बताएका छन् । बन्दी रामबहादुर सहिद परिवार समेत हुन् ।
असोज २९ गते दाङको राजपुर गाउँपालिका ४ बाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र बुढा, रोल्पा इन्चार्ज प्रयास, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्व, दाङ सेक्रेटरी प्रदिपसहित २१ जनालाई गिरफ्तार गरेको थियो ।
रोल्पामा तीन जना पुनः गिरफ्तार
त्यसैगरि रोल्पा जिल्ला अदालतबाट सोमबार रिहा भएका बिष्णु राउत (संकलन), सुरज परियारलाई अदालतले रिहा गरेपनि अदालत परिसरबाट पुनः गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई प्रहरीले जबर्जस्ती आत्मसमर्पण गर्न दवाव दिएको तर अस्वीकार गरेपछि पुनः गिरफ्तार गरेको बताइएको छ ।