सर्बोच्च अदालतले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएपनि प्रहरीले आज सर्बोच्च अदालत अगाडीबाटै बिप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ता रहेको आरोप लागेका तीन जनालाई फेरी गिरफ्तार गरेको छ।
सर्बोच्च अदालत अगाडिबाट गिरफ्तार हुने बिप्लव कार्यकर्ता आरोप लागेकाहरुमा पोखराका बिजय भनिने बिष्णु प्रसाद अधिकारी , भीमप्रसाद अधिकारी र हरिचन्द्र खड्का रहेका छन्।
सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय दिपक कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले आज उनीहरुलाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो। सर्बोच्च अदालतले उनीहरुलाई फरक बिचार र आस्था राखेकै आधारमा विना कसुर प्रवृत्त भावनाले पक्राउ गरेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो।
उनीहरुको तर्फबाट सर्बोच्च अदालतमा भीमप्रसाद शर्माले बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गरेका थिए। सो इजलाशमा पिडितहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोख्रेल , सन्तोष कोइराला, नारायणप्रसाद तिवारी र नन्दप्रसाद अधिकारीले बहस गरेका थिए।
उनीहरुलाई प्रहरीले गएको माघको तेश्रो साता काठमाण्डौबाट गिरफ्तार गरी चन्दा ऐन अन्तर्गत कानुनी कार्वाही चलाएको थियो। गिरफ्तारीमा परेका पोखराका बिजय अधिकारीले गिरफ्तार हुनु तीन दिन अघि मात्र माघ १९ गते एक प्रेस बिज्ञप्ति जारी गरेर स्वास्थ्यको कारण देखाउंदै पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
