प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । दुई वर्ष पुगेको अवसरमा संसद्लाई सम्बोधन गर्दै बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् ।
गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास कार्यक्रममा बोल्दै उनले शक्ति केन्द्रहरूले षड्यन्त्र गरिरहेको संकेत गरे । ‘तपाईंहरूलाई लाग्ला, बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन फेरि उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन्,’ प्रधानमन्त्री ओलीले थपे, ‘म भन्न चाहन्छु-अरू कसैैले हैन, कुनै शक्तिले हैन, हामीलाई सरकारमा पु-याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो ।
जबसम्म तपाईंहरूको आशीर्वाद रहन्छ, साथ शुभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौँ, बढ्यौँ ।’ उनले आफू पाँच दशकदेखि लडेर आएको र अझै पनि प्रतिक्रियावादीसँग लड्ने बताए । ‘१४ वर्ष जेल जीवन बिताउनुप-यो, ६ वर्ष भूमिगत बस्नुप-यो । २० वर्ष त पञ्चायतविरुद्ध संघर्ष गर्नुप-यो । त्यसको १८ वर्षपछिसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपयो ।
त्यसपछि पनि अनेक जालझेलविरुद्ध संघर्ष गरिरहनुपरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादीसँग लडेर, जनविरोधी शक्तिसँग लडेर यतिकै बितेको छ । त्यसकारण म सधैँ लडाइँको मैदानमा खडा छु ।’ मुकाविला गर्न नसक्नेहरूले मर्ला कि भनेर आश गरेको आरोप पनि लगाए । ‘४६ वर्ष भयो रोगसँग लडेको । विरोधीहरू मुकाविल गर्न सक्दैनन् । मर्ला कि भनेर आश गर्छन् । मर्न त मर्छु एक दिन, तर अहिले हैन, अलिक पछि,’ उनले भने ।