तनहुँको बन्दिपुर-४ ठुलोढुङ्गा स्थित डाफे होटलका संचालक लालकाजी गुरुङ (सन्त) दम्पतिमाथि शुक्रबार राति होटलमै आक्रमण भएको छ। फागुन २ गते शुक्रबार राति आफ्नै होटलमा खाना खाइरहेको अवस्थामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले व्यवसायी गुरुङमाथि एक्कासि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सो आक्रमणबाट गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार हुन् नसकेपछि थप उपचारको लागि काठमाडौं लगिएको छ। घाइते गुरुङको टाउकोमा गम्भिर चोट लागेको र अचेत अवस्थामा रहेको क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले जानकारी दिए। आक्रमणको क्रममा गुरुङको श्रीमती समेतको हात भाचिएको छ।
यता ब्यबसायी गुरुङमाथि आक्रमण हुँदाको दिउँसो उनी र लोक गायक प्रकाश कटुवालबीच बिबाद भएको र सोही कारण उनीमाथि कटुवाल पक्षधरले नै आक्रमण गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। तर लोक गायक प्रकाश कटुवालले आफूहरुबीच दिउँसो बिबाद भए पनि दुबैबिच मिलापत्र भै हात समेत मिलाएको दाबी गरेका छन्। तर जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले यस घटना सम्बन्धमा आबस्यक अनुसन्धान भैरहेको जानकारी दिएका छन्।
यसबीच क्षेत्रीय होटल संघ तनहुँले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नै होटलमा आक्रमण गरेर भाग्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।