बेला बेलामा एउटै नम्बरमा दुई-तीन वटा गाडी तथा मोटरसाइकलहरु चलेको भेटिएपछि ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीले समातेर कारवाही गर्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेका छन्। ट्राफिक प्रहरीले सक्कली सवारी साधनलाई छाडेर अर्काको नम्बर राखेर सवारी चलाउनेलाई कानूनी कारवाही चलाउने गर्दछ। तर मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र त्यसमाथि पनि मन्त्री चढेकै नम्बरमा अर्को गाडी पनि चलेको भेटिएको छ। त्यस्तै बारा जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयमा एउटै नम्बरमा तीन वटा गाडी चलाएको फेला परेको छ।
शनिबार पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा एउटा तस्बिर राखे । जसमा दुईवटा मन्त्रीका गाडी छन् । तर, नम्बर प्लेट भने एउटै छ ।
एउटै नम्बर प्लेट भएका सवारीसाधन सिंहदरबारमै रहेको र खुलमखुला चढ्ने गरिरहँदा पनि ट्राफिक प्रहरीले अहिलेसम्म थाहा पाएको देखिएन । पूर्वसचिव उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।’ पार्किङ गरी राखिएका दुईवटै गाडीको नम्बर प्लेटमा बा२झ ३५३२ रहेको छ ।


उता बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् ।
एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् । कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बतायो ।