सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन्। त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए।
अध्यक्ष श्रेष्ठका अनुसार, माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको छ । गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन। हेल्थपोस्टहरूबाट मास्क लगेर वितरण गरिएको छ।
सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।

चीनको वहानमा देखापरेको कोरोना भाइरस अहिले चीनसहित विश्वका २ दर्जन बढी मुलुकमा देखापरेको छ । यसबाट चीनमा मात्रै करिब १ हजार ज्यान गइसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।