पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका– ३ छरछरेमा मंगलबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
छरछरेबाट बुलिङटार जाने क्रममा मंगलबार साँझ लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। ।
दुर्घटनामा घाइते भएकामध्ये ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ ।
त्यसैगरी ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटनामा परेको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरिले जानकारी दिएको छ।दुर्घटनास्थल महेन्द्रराजमार्गको रजहरबाट १२ किलोमिटर उत्तर पहाडमा पर्दछ। कच्ची सडक भएकाले ट्रयाक्टरमै स्थानीय आउजाउ गर्छन्। कच्ची सडकमा अचानक अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।