सिन्धुपाल्चोक जिल्लाको तितेपानीस्थित खाल्डे प्रहरी चौकीमा गएराती अज्ञात समुहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन्। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो प्रहरी चौकी आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् ।
घाइतेमध्ये असई झालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ भने। प्रहरी हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, १०-१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गर्दा उनीहरु घाइते भएका हुन्।
प्राप्त जानकारी अनुसार, मदिरा पिएर अनियन्त्रित बनेको स्थानीय युवाहरुको समूहले होहल्ला गर्न थालेपछि प्रहरी चौकीका प्रहरीले उनीहरुलाई सम्झाइबुझाईको प्रयास गरेका थिए। तर उनीहरुले रक्सी पिएर हो–हल्ला नगर्न सम्झाउने प्रहरीमाथि कुटपिटमा उत्रिएका थिए। प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको एसपी महर्जनले जानकारी दिए ।
आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही आक्रमणमा प्रयोग भएको आशंका गरिएका चार वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस घटना सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कारवाही चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।