नगर प्रमुखले गरेका आर्थिक अनियमितताको विरोध गर्ने तीन युवा पक्राउ, गाली बेइज्जती मुद्दा दर्ता

नगर प्रमुखले गरेका आर्थिक अनियमितताको विरोध गर्ने तीन युवा पक्राउ, गाली बेइज्जती मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ माघ २०७६
  • 6.4K
    Shares

नगर प्रमुख शिवनारायण साह

नगर प्रमुखले गरेका आर्थिक अनियमितताको विरोध गर्दै विगत सात हप्तादेखि आन्दोलनरत सप्तरीको डाकनेश्वरी नगरपालिकाका तीन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका युवाहरुमा डाकनेश्वरी नगरपालिका ३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव रहेका छन्।  उनीहरुलाई सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुरब्यबहार गरेको आरोप लगाइएको छ।

डाकनेश्वरी नगरपालिका ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा मंगलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका नगर प्रमुख शिवनारायण साहलाई उनीहरुले दुव्र्यवहार गर्दै कर्मचारीहरुमाथि हातपात गरेको नगर प्रमुख साहको आरोप छ । नगर प्रमुख साहले आफु चढेको गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीहरुले रोक्न खोज्दा उनीहरुमाथि नै हातपात गरिएको बताए ।उता युवाहरुले भने आफुहरुले नगरप्रमुख साहलाई ज्ञापनपत्र बुझाउन खोज्दा आफुहरुलाई पक्राउ गरिएको गुनासो गरेका छन्।

घटना लगत्तै पक्राउ परेका तीन जनासहित डाकनेश्वरी नगरपालिका ५ का महेश्वर प्रसाद यादव, वडा नम्बर ७ का गजेन्द्र प्रसाद साहविरुद्ध नगर प्रमुख साहले बुधबार जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जतीको उजुरी दिएका छन् ।

आरोपित महोश्वर प्रसाद र गजेन्द्र प्रसाद फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए ।

नगर प्रमुख साहमाथि भएको हातपातको बिरोधमा बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द भए । नगर प्रमुख साहमाथि भएको आक्रमणको बिरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीमा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेपछि सप्तरीको ९ नगरपालिका र ९ गाउँपालिकाले सेवा बन्द गरेका हुन् ।

आर्थिक अनियमितताको विरोध गर्दै स्थानीय युवाहरुले डाकनेश्वरी नगरपालिका कार्यालयमा मंसिर २९ गतेदेखि ताला लगाएर गरेको आन्दोलन गत पुस १२ गते २२ बुँदे सहमतिपछि खुला भएको थियो ।

प्रतिक्रिया