युद्धकालमा आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको माओवादीले हत्या गरेको र हत्यारालाई कारबाहीको माग राखेर आमरण अनसन बस्दै आएकी गंगामाया अधिकारी मंगलबार पुल्चोकस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपील गरेकी छिन्।
छोराका हत्यारालाई कारबाही नगरेसम्म संघर्ष गरिरहने बताएकी गंगामयाले राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेकाले न्याय दिलाउन घटनालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गरिदिन आग्रह गरेकी हुन् ।
उनको आग्रहप्रति आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरिन् । गंगामायाले लामो समयसम्म न्याय नपाएको बताउँदै उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने बताइन् ।
छोराका हत्यारालाई कारबाहीको माग राखेर गंगामाया र उनका पति नन्दबहादुर अधिकारीले २०६९ माघबाट अनशन थालेका थिए । तर, २०७१ असोज ६ गते अनसनमै बसेका बेला नन्दप्रसादको निधन भएको थियो । गोरखा फुजेलका अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादको २०६१ सालमा माओवादीले चितवनमा हत्या गरेको आरोप लाग्दै आएको छ ।