भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै डडेल्धुरामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई बिप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ताले कुटपिट गरेका छन्। उनको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ।
जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ।
यसैबीच, अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। गम्भीर घाइते उनलाई उपचारका लागि धनगढी सिफारिस गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको नेकपा डडेल्धुराले जनाएको छ।
नेता जोशीलाई बिप्लवका नेता तथा कार्यकर्ताले आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानबाट आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका इन्चार्ज दौलत सिँह विष्ट र सेक्रेटरी विजयले विज्ञप्ति निकालेर जोशीमाथि कारवाही गरिएको स्पष्ट पारेको छ । उक्त घटनाको जिम्मेवारी लिंदै जारी विज्ञप्तिमा भनिएको छ ‘जोशीले मडेला खोला तटबन्धन र खेलकुद मैदान निमार्णका साथै थुप्रै योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको, योजनाको अन्तिम भुक्तानीहुँदा समेत मजदुरको पारिश्रमिक नदिएको, समाजमा भ्रष्टाचार गरी विकृती मच्चाएको र हाम्रो पार्टी विरुद्ध सुराकी गरेकाले निज ज्ञानेन्द्र जोशीलाई हाम्रो पार्टीले चेतावनी स्वरुप सांकेतिक कार्वाही गरेको अवगत गराउँदछौ।’
साथै पार्टीले आगामी दिनहरुमा जोसुकैले पनि त्यस्ता कार्य गरे नछाडिने चेतावनी समेत दिएको छ।
