बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका ब्युरो इन्चार्ज माइला लामासहित चार जना नेताहरुलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको छ । उच्च अदालत पाटनको आदेशमा आइतबार रिहा भए लगत्तै माइलालामा , अर्का पार्टी केन्द्रिय सदस्य नविन बिक, अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यय र इश्वर दमाईलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार बम बिस्फोटको मुद्दामा थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । तर उनिहरू बिरुद्ध प्रहरीमा अर्को मुद्दा रहेको भन्दै प्रहरीले अदालत परिसरबाटै उनीहरूलाई पुनः गिरफ्तार गरेको बताइएको छ।
ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालय नख्खुमा फागुन १० गत भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै लामासहित उनीहरूलाई पुर्पक्षमा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै रिहा गर्न आदेश दिएको थियो ।
