नेपालको कानुनले जातीय भेदभाब गर्न नपाईने कानूनी ब्यबस्था गरिएको भएपनि बैतडी जिल्लाको दशरथ चन्द नगरपालिकाका सत्तारुढ नेकपाका स्थानीय स्तरका नेतामाथि दलित भएकैकारण कुटपिट भएको छ।
बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि दलित भएकैकारण कुटपिट भएको हो । शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै प्रांगणमा लावडमाथि स्थानीय त्रिलोक विष्टले कुटपिट गरेको पीडित लाबडले बताए । लावडको दुवै हातमा चोट लागेको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीका अनुसार, लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको छ। उनको स्थानीय अस्पतालमा उपचार भएको छ।
आफुलाई मदिरा सेवन गरेका स्थानीय त्रिलोक विष्टले “तँ डुम” भन्दै एक्कासी कुटपिट गरेको पिडित लावडले जानकारी दिए। आफूमाथि कुटपिट हुँदा वडा वडा कायालयका कर्मचारीहरु समेत केही नबोलेको पिडित लावडले गुनासो गरे।
कुटपिट गर्ने विष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीले शुक्रबार साँझ नै पक्राउ गरेको छ। घटना कसरी भयो भन्ने बारेआबस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।