अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) सम्झौताको देशभर ब्यापक बिरोध भैरहदा त्यसको असर सत्तारुढ नेकपाको जारी केन्द्रिय समितिमा पनि देखिएको छ।
सत्तारुढ नेकपाको जारी केन्द्रिय समिति बैठकमा प्रस्तुत प्रतिबेदनहरुमाथी छलफल गर्न गठित समुहहरुले एमसीसी सम्झौता कार्यान्वयन गर्न नहुने निष्कर्ष निकालेका छन्।
सत्तारुढ नेकपाको जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिबेदनहरुलाई छलफल गर्न गठित १५ मध्ये ४ वटा समूहले शुक्रबार समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । छलफलको निष्कर्ष निकालेका चार मध्ये तीन समुहले एमसीसीको विपक्षमा देखिएका छन् । समूह २ की टोलीनेता कमला रोकाले एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने धारणा राखे पनि अन्य तीन समूह भने विपक्षमा देखिएका छन् ।
विपक्षमा देखिने समूह नेताहरू सबै तत्कालीन नेकपा माओवादी केन्द्रका छन् । कमला रोकाको समूहले एमसीसीलाई परिमार्जनसहित संसदवाट पारित गर्नुपर्ने निष्कर्ष बैठकमा पेस गरेको छ । समूहगत छलफलको निष्कर्ष बैठकमा राख्दै उनीहरूले केन्द्रीय सदस्यले राखेका धारणालाई जस्ताको त्यस्तै पेस गरेका हुन् । समूह ६, ९ र १३ का टोली नेताले भने एमसीसीलाई पारित गर्न नहुने समूहको निष्कर्ष बैठकमा पेस गरे । २ नम्बर समूह बाहेकका ३ वटा टोलीले एससीसीलाई संसदवाट पारित गर्नु नहुने निष्कर्ष बैठकमा राखेको १३ नम्बर समूहका नेता लेखनाथ न्यौपानेले बताए ।
त्यसैगरी, भ्रष्टाचार नियन्त्रणमा पनि नेतृत्व तहले निर्मम बन्न जरूरी रहेको, पार्टीमा उपाध्यक्ष तहलाई तल्ला कमिटीसम्म लागू गर्नुपर्ने, सचिवालयमा महिलाको प्रतिनिधित्व हुनुपर्नेलगायतका सुझाव दिएका छन् । आज समूह २ की टोलीनेता कमला रोका, ६ का नेता दीनानाथ शर्मा, ९ की भगवती चौधरी र १३ का टोली नेता लेखनाथ न्यौपानेले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । बैठक भोलि बिहान पुन बस्नेछ ।