बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा‘प्रज्वल’सहित चारजनालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।
उच्च अदालत पाटन का मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको हो । बन्दीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, सन्तोष कोइराला, बासुदेव तिवारी, चुडाबहादुर निरौला र राजु अधिकारीले बहस गरेका थिए ।
उच्च अदालतले आदेश गरेपनि उनीहरुलाई साबिककै नक्खु कारागारमा राखिएको छ र आज प्रक्रिया पुर्याएर छाड्ने तयारी गरिएको छ। तर सरकारी पक्षले अर्को मुद्दा लगाएर फेरी पक्राउ गर्ने तयारी गरेको समाचारस्रोतको दाबी छ।
ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।
उनीहरु सबैलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि भन्दै नख्खु कारागार चलान गरेको थियो ।