दैनिक ज्यालादारीमा काम गरिरहेका पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकहरुले क्याम्पस प्रशासनले आफुहरुको चरम शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारी मुक्त गरी करार सेवामा नियुक्ति नगरिएसम्म आन्दोलन जारी रहने घोषणा गर्दै उनीहरुले आइतबारदेखि अनिश्चित कालका लागि पठन पाठन बन्द गरि आन्दोलनमा उत्रिएका हुन् ।
पृथ्वीनारायण क्याम्पसमा आईतवार पत्रकार सम्मेलन गर्दै नेपाल आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई अध्यक्ष सुनिल गौतमले सोमबारदेखि क्याम्पसमा पठन पाठन कार्य अनिश्चित कालका लागि स्थगित गरिने जानाकारी दिए । उनले माग पुरा नभए सामुहिक राजीनामा दिन समेत आफुहरु तयार रहेको बताए ।
अहिले पृथ्वीनारायण क्याम्पसमा कुल पांच सय ४९ प्राध्यापक छन् । तिमध्ये दुईसय १८ जना आंशिक छन् । कुल कक्षाभारको ७० प्रतिशत आंशिक शिक्षकहरुले वहन गरिरहेका छन् ।
आफ़ुहरुको मेहनत र परिश्रमले विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्रको साथै नेपालकै उत्कृष्ट क्याम्पसको उपाधि पाएको ‘पृथ्वीनारायण क्याम्पसले विगतका आन्दोलनमा पटक-पटक सम्झौता गरेको भए पनि क्यामपस प्रशासनले कार्यान्वयन नगरेको आरोप आंशिक प्राध्यापकहरुको छ ।
पृथ्वीनारायण क्याम्पस प्रमुखले आंशिक शिक्षकको हाजिरी मेशिन बुझेनन्
आफ्ना मागहरु पुरा नभएसम्म क्याम्पसमा पढाउन नफर्कने भन्दै आंशिक शिक्षकहरुका लागि क्याम्पस प्रशासनमा राखिएको विद्युतीय हाजिरी मेशिन क्याम्पस प्रशासनलाई फिर्ता गर्न पुगेका आंशिक शिक्षक शेखर गौतमसंगबाट क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाले बुझ्न मानेनन। आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएकाकारण क्याम्पस प्रशासन भवन अगाडी अलपत्र अवस्थामा बसेका क्याम्पस प्रमुख डा. थापाले आंशिक शिक्षकहरुको विद्युतीय हाजिरी मेशिन बुझ्न इन्कार गरेका हुन्। विद्युतीय हाजिरी मेशिन बुझिदिन गरेको अनुरोध पछि उनले कद्किदै जवाफ दिए ,”तपाइँहरुले जहाँ-जहाँ, जे-जे भन्यो, मैले त्यही भनेको मान्नुप्रने हो र ? मैले हाजिरी मेशिन किन बुझ्ने ? जहाँ थियो उहीं राखिदिनुस।”