पोखराका एक युवाको पोखरा विमानस्थलबाट अबैध रुपमा गोलीगठ्ठा ओसारपसार गर्ने प्रयास विफल भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर २७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको पोखरा विमानस्थलबाट अबैध रुपमा गोलीगठ्ठा ओसारपसार गर्ने प्रयास विफल भएको हो । उनको साथबाट राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको छ ।
यति एयरको बिहान १०ः१५ को उडानमार्फत काठमाडौँ उड्न लागेका शाहीलाई विमानाथलको एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामा २२ बोर राइफलमा प्रयोग हुने गोली फेला परेको हो । शाहीले ती गोली कुन प्रयोजनका लागि र कसका लागी लैजान लागेका थिए, खुलेको छैन।
शाहीलाई नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।