राष्ट्रपतिद्वारा सोनाम ल्होछार उद्घाटन गर्न अस्वीकार ! महायज्ञ उद्घाटन नगरि फर्किए उपराष्ट्रपति

राष्ट्रपतिद्वारा सोनाम ल्होछार उद्घाटन गर्न अस्वीकार ! महायज्ञ उद्घाटन नगरि फर्किए उपराष्ट्रपति


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ माघ २०७६
  • 4.6K
    Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन् भने उपराष्ट्रपति नन्दबहादुर पुन चितवनको नारायणगढमा हुनलागेको कोटिहोम महायज्ञमा सहभागी नभई काठमाडाैँ फर्केका छन्।

२८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार गरेको हो ।
नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठन भएको सोनाम ल्होछार मुल आयोजक समारोह समितिले तय गरेको नारा कारण कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति जाने कार्यक्रम अन्तिम अवस्थामा रद्द भएको आयोजकले जनाएको छ।

आयोजक समितिले ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको अभिभारा’ नारा तय गरेको छ ।

राष्ट्रपतिले राजनीतिक नाराकै कारण पर्यटनमन्त्रीलाई समेत ताम्सालिङको नारा भएको सोनाम ल्होछार जान रोक लगाएको स्रोतले बताएको छ । यद्यपि, यसअघि राष्ट्रपति भण्डारी गुरुङहरुको तुम ल्होछारमा सहभागी भएकी थिइन् ।

यसैबीच चितवनको नारायणगढमा आयोजित महायज्ञ उद्घाटन समारोहमा सहभागी हुन नारायणगढ पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन सो कोटिहोम महायज्ञमा सहभागी नभई  काठमाडाैँ फर्केका छन्।

शुक्रवार नै चितवन पुगेका उपराष्ट्रपति आज हुने महायज्ञ उद्घाटन समारोहमा उपस्थित नभई फर्केका हुन्।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति उपस्थित हुने कार्यक्रम विवादित हुने देखिएपछि सहभागी नभएको जानकारी दिए।

स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्किएको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा पुनलाई निम्ताइएको कोटिहोमका संयोजक एवं प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारीका ठगीका काण्डहरु सञ्चार माध्यममा आएका छन् । उनै भण्डारीको निम्तामा चितवन पुगेका उपरास्ट्रपति  पुनले कोटिहोम उद्घाटन नगरेका हुन्।

प्रतिक्रिया