थप पांच मुलुकमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसमक्ष सेनाको प्रस्ताव

थप पांच मुलुकमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसमक्ष सेनाको प्रस्ताव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ माघ २०७६
  • 4.3K
    Shares

नेपाली सेना

नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। सेनाले रक्षा मन्त्रालयमार्फत थप पाँच स्थानमा सैन्य सहचारी तत्काल आवश्यक रहेको र मुलुकको कूटनीति समन्वयमा पनि मद्दत पुग्ने भन्दै माग गरेको हो।

सेनाले अहिले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिका गरी ६ मुलुकमा सैनिक सहचारी र राष्ट्रसंघमा सुरक्षा सल्लाहकार राखेको छ।  राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रमध्ये फ्रान्स र रसिया, युरोपेली महासंघ (ईयू)को मुख्यालय रहेको ब्रसेल्स र अफ्रिका हेर्न दक्षिण अफ्रिका वा इजिप्टमध्ये एक मुलुक र श्रीलंकामा थप सैनिक सहचारी र राष्ट्रसंघमा सुरक्षा सल्लाहकार राख्न नेपाली सेनाले सरकारसमक्ष प्रस्ताव राखेको छ।

सेनाका उपरथीसहितको टोलीले यो विषयमा रक्षा, परराष्ट्र, अर्थलगायत मन्त्रालयमा लगातार छलफल गरिरहेका छन्। नेपाली सेनाको प्रस्ताव अहिले रक्षा मन्त्रालयमा लामो समयदेखि छलफलमा छ।  एकैपटक सबै स्थानमा सैन्य सहचारी थप गर्दा बजेट समस्या पर्ने भन्दै क्रमैसँग थप गर्ने गरी सेनाको प्रस्तावलाई अघि बढाउने भएको समाचारस्रोतको दाबी छ।

सैन्य सम्बन्ध विस्तारका लागि पनि नेपाली सेनाबाट चीन र भारतमा सहायक रथी (ब्रिगेडियर जनरल) र अन्य स्थानमा (वासिङटन डीसी, इस्लामाबाद, ढाका र न्युयोर्क) महासेनानी (कर्नेल) श्रम सहचारी/सल्लाहकारका रूपमा पठाउने गरेको छ।

परराष्ट्रका अधिकारीको सोचका कारण एक जना सहचारीले सहयोगीबिना नियोगमा काम गर्दै आएका थिए तर अहिले उनलाई पनि सहयोगी उपलब्ध गराउने र गाडी सुविधा दिनेजस्ता विषय पारित भइसकेको छ। नियोग तथा दूतावासमा सैनिक सहचारीको वरिष्ठता राजदूतपछिको हुने गर्दछ।  उनीहरू नेपालमा पनि गाडी र अन्य सुविधा पाउने तहका भएकाले पोस्टिङमा पनि त्यही तहअनुसार व्यवस्था हुनुपर्नेमा सेनाको जोड छ।

परराष्ट्र अधिकारीले भने सैन्य सहचारी थप गरिरहँदा कूटनीतिमा अर्कै प्रकारको सन्देश जाने भन्दै त्यसमा बढी जोड दिन नहुने सुझाव दिँदै आएको छ। समाचारस्रोत अन्नपूर्णपोस्ट

प्रतिक्रिया