अन्तत: राजनीतिक पार्टीका नेताहरूभित्र रहेको पितृ सत्तात्मक सोंच, जति समावेशी र समानताको नारा फलाके पनि सत्तारुढ नेकपाका नेताहरुभित्रको महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने तुच्छ दृष्टिकोणकाकारण उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाम्फेले आफ़ो राजीनामाका बारेमा जानकारी गराएकी थिइन् । लगतै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी थिइन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङफेले सभामुखमा दाबी गरेकी थिइन् । सत्तारुढ नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दासमेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् ।
सोमबार उपसभामुखबाट राजीनामा दिँदा पनि उनले सभामुखमा आफ्नो दाबी स्वभाविक भएको बताइन् ।
‘मेरा धारणाहरु सम्बन्धित निकायमा प्रस्तुत गरेकी हुँ । मेरा धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु’ उनले भनिन् । आफ्नो दाबीबारे आएको प्रतिक्रियालाई नजिकबाट नियालिरहेको भन्दै उनले यसबारे समयले बस्तुनिष्ठ मूल्यांकन गर्ने विश्वास व्यक्त गरिन् ।

समावेशी लोकतन्त्र संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता भएको भन्दै उनले राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्कन सक्यो भने मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाई गरेका राजनीतिक दल र नेतृत्व सहमत हुने आश व्यक्त गरिन् ।
तुम्बाहाङफेले घुमाउरो शैलीमा नेकपाले राजीनामा दिन गरेको आग्रहको पनि कारण खुलाइन् ।
एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण सभामुख पद रिक्त भएको भन्दै उनले भनिन्, ‘सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समय सभामुखविहीन हुँदा उत्पन्न जटिलता र यसले सिर्जना गरेका समस्याबारे हामी जानकार नै छौं । यस्तो स्थिति अव कायम रहनु हुँदैन । सभामुख चयनको ठोस आधार तय भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर आफूले राख्दै आएका मान्यता सम्मानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु ।’
उपसभामुख रहँदा आफूले इमान्दारितापूर्वक कर्तव्य पूरा गर्ने प्रयास गरेको समेत उनले बताइन् ।