अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साह र अन्य २ इन्जिनियरलाई करीब १९ लाख रुपियाँ घुससहित शुक्रबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्य इन्जिनियरहरुमा इन्जिनियर नवीनकुमार साह र सब इन्जिनियर वीरेन्द्रकुमार साह रहेकाछन् । उनीहरुको साथवाट १८ लाख ९६ हजार रकम सहित पक्राउ गरिएको थियो ।
अख्तियारको टोलीले डिभिजन सडक प्रमुख साहको साथबाट ३ लाख रुपैयाँ, इन्जिनियर नवीनकुमार र सब इन्जिनियर वीरेन्द्रकुमार साहको कोठाबाट १५ लाख ९६ हजार रुपैयाँ घुस बरामद गरेको हो। उनीहरुलाई शुक्रबार राति नै बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ल्याइएको समाचारमा जनाइएको छ।
आयोगका अनुसार उनीहरुले सडक निर्माणका लागि आएको बजेटबाट कमिशनस्वरुप उक्त रकम लिएका थिए ।