धनुषाको महेन्द्रनगरमा बम बिष्फोटको करिब ३ सातापछि घटनाको योजनाकारको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य आदम राइनलाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको छ ।
ने.क.पा. केन्द्रिय सदस्य आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको भएपनि अहिलेसम्म त्यस बारेमा आधिकारिक रुपमा जानकारी सार्वजनिक गरेको छैन। तर समाचार स्रोतले उनलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिएको छ। राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । अद्यापि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रिय सदस्य आदम राइनको गिरफ्तारीको बारेमा केही बोलेको छैन।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको बताएका छन् । तर अभियुक्त आदम पक्राउ बारे केहि बोल्न चाहेनन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरको मूलढोकामा राखिएको टाइम बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो । सोहे बिस्फोटमा परी घरमुलि राजेश साह र आनन्द साहको पनि मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
सो घटनापछि प्रहरीले ने.क.पा. केन्द्रिय सदस्य आदम राइनलाई फरार सूचीमा राखेर खोजी गरिरहेको थियो।